
काठमाडौं : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो।
आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरि मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१बाट मतगणना सुरु गरिएको हो।
हेटौंडा-२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ।
आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो। जिल्लाभरका सम्पूर्ण मतपेटिका बिहान २ बजे मात्र हेटौंडा ल्याइएको थियो। एकैपटकमा १२ स्थानमा मतगणना गर्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ।