PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

झापा-५ मा केपी शर्मा ओलीको अग्रता, अन्य क्षेत्रमा कस्तो छ अवस्था?



पहिलोपोस्ट

झापा-५ मा केपी शर्मा ओलीको अग्रता, अन्य क्षेत्रमा कस्तो छ अवस्था?

काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन्। ६ हजार २१५ मत गणना हुँदा ओलीले तीन हजार २१२ मत प्राप्त गरेका छन्।

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार ५२३ मत प्राप्त गरेकाछन्। झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार २८९ मतदाता रहे पनि एक लाख दुई हजार १५० जनाले मतदान गरेका छन्। यो निर्वाचन क्षेत्रमा ६६.२७ प्रतिशत मत खसेको छ।

क्षेत्र २ र ४ मा स्वतन्त्र अगाडि

झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन। मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए।

झापा १ मा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ। यो क्षेत्रमा शर्माले अग्रता लिइरहेका छन्।  झापा क्षेत्र १ मा प्रारम्भिक मतगणनाअनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम गरेका छन्। ४०० मत गन्दा शर्माले २१७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल १०३ मतमात्रै प्राप्त गरेका छन्।

प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत), झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,  झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन्।

झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा एमालेका देवराज घिमिरेलाई पछि पारेका हुन्। झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन्। दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार तीन मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७८४ मत ल्याएका छन्। दुवैबिचको मतान्तर २१९ हो।

अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ। झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बनाएका छन्। तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले १४३ मत ल्याएका छन्। एमालेका उम्मेदवार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएका छन्। झापा ५ मा पनि मतगणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell