
कैलाली : कैलालीको १ र ३ नम्बर निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको उक्त दलले कैलालीको १ नम्बर क्षेत्रमा २ हजार मत गन्दा गठबन्धन भन्दा करिब ३ सय बढी मत प्राप्त गरेको छ। उक्त क्षेत्रमा रञ्जिता स्वयंम प्रतिनिधि सभामा उम्मेदवार छिन्। त्यहाँ २ हजार ७ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी ९२५ मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका राम जनम चौधरीले ५५८ मतसहित पछ्याइरहेका छन्। यस्तै एमालेका तपेन्द्र रावलले २०२ मत पाएका छन्।
यता, ३ नम्बर निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्तिकै अग्रता छ। उक्त क्षेत्रमा अहिलेसम्म ५ हजार १०५ मत गन्दा उन्मुक्तिका गङ्गा चौधरीले १ हजार ६०१ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले १३ सय मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले १ हजार ५० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी चौथो छन्। उनले ८०० मत पाएका छन्।
कैलाली ४ नम्बर क्षेत्रमा गठबन्धनका उम्मेदवार वीर बहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन्। यता, २ र ५ नम्बर क्षेत्रमा भने मत गणना सुरु हुन सकेको छैन । गणनाका विषयमा राजनीतिक दल र आयोगका कर्मचारीबिच कुरा नमिले पछि गणना रोकिएको हो। गणना रोकिएपछि ५ नम्बर निर्वाचन क्षेत्रमा केही दलका उम्मेदवार तथा कार्यकर्ताले नाराबाजी समेत गरिरहेका छन्।