
फिफा विश्वकप २०२२ अन्तर्गतको समूह 'ए'को खेलमा नेदरल्याण्ड्सले सेनेगललाई हराएको छ। अल थुमना स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्सले अफ्रिकी शक्ति राष्ट्र सेनेगललाई २-० गोलअन्तरले हराएको हो।
नेदरल्याण्ड्सको जितका लागि खेलको अन्तिम समयका गोल निर्णायक बने। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा कोडी गक्पोले फ्रेन्की डी जोङको पासमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सको खाता खोलेका थिए। त्यस्तै डेभी क्लासेनले इन्ज्युरी समयमा गोल थप्दा पटकपटकको गोलको अवसर बनाएर पनि सदुपयोग गर्न नसकेको सेनेगलले २-० को पराजय ब्यहोर्न पुग्यो।
समूह 'ए' अन्तर्गत नै यसअघि उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराउँदै खाता खोलिसकेको छ। यो समूहमा नेदरल्याण्ड्स, सेनेगल, कतार र इक्वेडर छन्।