PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पर्साका प्रदेशसभा सिटमा स्वतन्त्रले अग्रता लिँदा चारवटा प्रतिनिधिसभा क्षेत्रमा को को छन् अगाडि?



पहिलोपोस्ट

पर्साका प्रदेशसभा सिटमा स्वतन्त्रले अग्रता लिँदा चारवटा प्रतिनिधिसभा क्षेत्रमा को को छन् अगाडि?

वीरगंज : पर्साको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभाको प्रारम्भिक रुझान आउन थालेको छ। हिजोदेखि पर्सा १ र २ को मतगणना वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने पर्सा ३ र ४ को मतगणना पोखरीयास्थित जिल्ला उचाङ्गल रामदेव कलवार माविमा भइरहेको छ।

अहिलेसम्मको मतगणना अनुसार पर्सा क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका प्रदिप यादव, क्षेत्र २ मा नेपाली कांग्रेसका अजयकुमार चौरसिया, क्षेत्र ३ मा नेपाली कांग्रेसकै सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र ४ मा रमेश रिजालले अग्रता बनाएका छन्।

त्यसैगरि, ८ वटा प्रदेशसभातर्फ ३ वटामा कांग्रस, २ वटा मा जसपा, २ वटामा स्वतन्त्र र एउटा क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पर्सा १ मा प्रतिनिधिसभातर्फ जसपाका प्रदिप यादवले ५ हजार ९८० मत पाउँदा स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले ४ हजार ५०२ मत ल्याएका छन्। राप्रपाका किरणमान डंगोलले ६४८ मत ल्याएका छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले जम्मा २८९ मत ल्याई चौथो स्थानमा छन्।

त्यसैगरि, पर्सा १(क)मा प्रदेशसभातर्फ माओवादी केन्द्रका रहबर अन्सारीले अग्रता बनाएका छन्। उनले  २ हजार ७५७ मत पाउँदा जन्नत अन्सारीले २६७५ मत ल्याएका छन्। एमालेका उम्मेदवार विचारी यादव १ हजार ५३८ मतका साथ तेस्रो स्थानमा छन्।  १ को 'ख' प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले अग्रता बनाएका छन्। राउतले ३ हजार ८५२ मत पाउँदा कांग्रेसका रामनारायण प्रसाद कुर्मीले २ हजार ५६१ मत ल्याएका छन्।

पर्सा २ मा भने प्रतिनिधिसभातर्फ कांग्रेसका अजयकुमार चौरसिया ८ हजार १ मतले अग्रस्थानमा छन्। उनलाई जसपाका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले ५ हजार ७३३ मतका साथ पछ्याइरहेका छन्। प्रदेशसभा क्षेत्र २ (क) तर्फ कांग्रेसका श्यामप्रसाद पटेल अगाडि छन्। उनले ७ हजार ७७ मत पाएका छन् भने जसपाका पर्सा अध्यक्ष रामनरेश यादवले ५ हजार ३४ मत ल्याएका छन्। पर्सा २ को (ख) मा स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह श्रेष्ठले ३ हजार ७९२ मतले अग्रता बनाएका छन्। लोसपाका निर्वतमान प्रदेश सांसद रमेशप्रसाद कुर्मी ३ हजार ५०९ मतले दोस्रो स्थानमा छन् भने एमालेका हरेराम पटेल १ हजार १३३ मतले तेस्रो स्थानमा छन्।

यस्तै, पर्सा ३ मा प्रतिनिधिसभापतर्फ कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ४ हजार १८ मतका साथ अग्रता बनाएका छन्। उनीभन्दा २५ मतले एमालेका राजकुमार गुप्ता चुनावी नतिजामा पछाडी छन्।

पर्सा ३(क)मा प्रमोद जैसवालले अग्रता बनाएका छन्। सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालका दाइ पर्ने जैसवालले २ हजार ७००, अर्का स्वतन्त्र उम्मेदवार नीरराज गिरीले १ हजार ५५६ र एमालेका मन्जुर अन्सारी भनिने अब्दुररहिम अन्सारीले १ हजार ३६८ मत ल्याएका छन्। पर्सा ३(ख) प्रदेशसभामा कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्रीले १ हजार ९४० मतका साथ अग्रता कायम राखेका छन्। उनलाई जसपाकी मधु गुप्ताले १ हजार ५८४ र नेकपा एकीकृत समाजवादीका प्रहलाद गिरी गोस्वामीले १ हजार २५२ मतका साथ पछ्याइरहेका छन्।  

त्यसैगरी,पर्सा ४ मा प्रतिनिधिसभातर्फ रमेश रिजालले ८ हजार ४५६ मतले अग्रता बनाएका छन् भने एमालेका जालिम मियाँले ७ हजार ६१४ मतले पछ्याइरहेका छन्। पर्सा ४ (क) प्रदेशसभातर्फ कांग्रेसका शंकर चौधरीले ७ हजार ३६ ल्याएर अग्रता कायम राखेका छन्। एमालेका पर्सा अध्यक्ष जयप्रकाश थारुले ५ हजार ४८९ मतले दोस्रो स्थानमा छन्। पर्सा ४ (ख)मा जसपाका निवर्तमान प्रदेश सांसद सिंगाहसन कलवार ६ हजार ६४मतका साथ अग्रस्थानमा छन भने उनलाई स्वतन्त्र उम्मेदवार प्रहलाद सा कानुले ४ हजार २१४ मत र माओवादीकी शेखचान्द ताराले ५८६ मतका साथ पछ्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell