काठमाडौं : अहिले मतगणना भएका ठाउँहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अपेक्षा गरेको भन्दा बढी सफलता हासिल गरिरहेका छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता लिँदा काठमाडौं-२ मा सोविता गौतम र काठमाडौं-७ मा विराजभक्त श्रेष्ठले पाएको मतले उनीहरुको जितलाई नै देखाइरहेको छ। कास्कीमा पनि स्वतन्त्र पार्टीका उम्मेदवारले जीत निकाल्ने दाउमा छन्।
यसरी हेर्दा गणना भइरहेका १० ठाउँमा स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाइरहेका छन्। स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाइरहँदा पार्टीका सभापति र जनलहरको हिसाबले सबैभन्दा धेरै आशाका केन्द्र मानिएका रवि लामिछानेको अवस्था भने फरक रहेको छ। हिजो दिउँसोबाट मतगणना भए पनि अहिलेसम्म रविले अग्रता लिन सकेका छैनन्।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका रवि लामिछाने अहिले तेस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ रवि भन्दा अगाडी छन्। एमालेका पोखरेलले ३ हजार ६२३ मत ल्याएका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मत ल्याउँदा रवि लामिछानेले २ हजार ९७८ मत मात्र ल्याएका छन्। बिहान साढे ११ बजेसम्म १० हजार मत गणना भइसकेको छ।
तर, अहिले मतगणना भएको क्षेत्र इच्छाकामना गाउँपालिकाको हो। जुन क्षेत्र एमालेको गढ भएको मानिन्छ। यसअघिको स्थानीय तह निर्वाचनमा पनि वडामा एमालेले जित निकालेको थियो। इच्छाकामना गाउँपालिका चितवनमा भौगोलिक रुपमा विकट समेत मानिन्छ। रवि लामिछानेले पनि चुनाव प्रचार प्रसारको क्रममा त्यहाँ आफ्नो प्रभाव कम भएको आंकलन गरेका थिए। त्यसैले यस क्षेत्रमा उनले एक रात बनेर नै प्रचारप्रसारमा समेत खटिएका थिए। इच्छाकामनामा आफुहरुले अपेक्षा गरेको भन्दाबढी मत आएको रवि लामिछानेले प्रतिकृया दिएका छन्।
दुर्गम पहाडी भेगमा अझै पनि ठूला दलहरूमा दबदबा भएकाले अरु क्षेत्रमा मतगणना गर्न थालेपछि अग्रता बनाउने स्वतन्त्र पार्टीका एक सदस्य दीपक बोहराले बताएका छन्। उनी भन्छन्,' दुर्गम पहाडी भेगमा अझै पनि ठुला दलहरूको दबदबा छ। केही घण्टा धैर्य गरौं। हामी ठुलो अन्तरले जित्छौं।'
चितवनमा तीनवटा क्षेत्र मध्ये अहिले १ नम्बर क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन्। त्यस्तै क्षेत्र नम्बर ३ मा पनि स्वतन्त्र उम्मेदवारले पाएको मत नराम्रो छैन। जिता बराल अहिलेसम्म मतगणना अनुसार दोस्रो नम्बरमा छिन्। त्यसैले सहरी क्षेत्रमा मतगणना हुन थालेपछि रवि लामिछानेको मत बढ्ने आशा गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको मतगणना भएपछि रावि लामिछानेले लिड गर्ने आंकलन गरिन्छ। किनकी यी पालिका शहरी बस्ती भएको ठाउँ हो। तर, कालिका नगरपालिकामा पनि एमाले बलियो मानिन्छ। स्थानीयतह निर्वाचनमा एमालले यहाँ प्रमुखमा जित निकालेको थियो।