PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चुनावी हारपछि रवीन्द्र मिश्र : दुखी छु, भावुक छु



पहिलोपोस्ट

चुनावी हारपछि रवीन्द्र मिश्र : दुखी छु, भावुक छु

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी हारपछि पहिलो प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले आफ्ना शुभेच्छुक सम्झेर भावुक भएको बताएका छन्।

‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु,’ मिश्रले भने, ‘जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु।‘

मिश्रले आफू झिनो मतान्तरले पराजित हुनुपरेकोमा दुखी भएकोसमेत बताएका छन्। ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्।

आफूले पाएको मतलाई भने टुट्न नदिने उनले प्रतिबद्धता जनाएका छन्। ‘गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन,’ मिश्रले भनेका छन्।

आफू अब पत्रकारितामा फर्कन नसक्ने उल्लेख गर्दै मिश्रले परोपकारमा लाग्ने संकेत गरेका छन्। यसका लागि आफूले काठमाडौं क्षेत्र नं १ सरोकार कोष स्थापना गर्ने यसले मनमा शान्ति दिने बताएका छन्।

‘मेरो पृष्ठभूमि पत्रकारिता ‍र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिनँ,’ उनले भनेका छन्, ‘तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell