कैलाली : कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जित निकालेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थापति दलका दुई सहकर्मी उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।
पहिला माओवादीमा रहेका र अहिले एमालेका नेता गौरीशंकर चौधरी र माओवादी नेता कृष्ण चौधरीलाई पराजित गरि गंगाराम विजयी भएका हुन्। उनले २३ हजार १२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार माओवादी नेता कृष्ण कुमार चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे। एमाले नेता गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत पाए।
उक्त क्षेत्रमा ६३ हजार ४४० मत खसेकोमा ५९ हजार ७११ मत सदर र ४ हजार २१ मत बदर भएको छ। विजयी भएका गंगाराम चौधरी पहिला नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आबद्ध थिए। २०७४ सालको निर्वाचनताका राष्ट्रिय जनता पार्टीमा आबद्ध भई रेशम चौधरीलाई जिताउन अहम् भूमिका खेलेका उनी हाल नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य हुन्।
यस बाहेक नागरिक उन्मुक्तिले कैलालीको १ र २ मा पनि निरन्तर फराकिलो अग्रता कायम राखेको छ। यी दुई क्षेत्रका स्थानीय तहमा सोही दलको बलियो पकड रहेको छ।