
काठमाडौं : ४ जना पूर्व प्रधानमन्त्रीमध्ये नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मत गणनामा पछि परेका छन्। ५ पटकको संसदीय निर्वाचनमा जित निकालेका खनाललाई यसपटक आफ्नै पूर्व पार्टी नेकपा एमालले जितका लागि चुनौती दिइरहेको छ। एकीकृत समाजवादीकै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गर्दा खनाल पछि परेका हुन्।
५ पटक जितेका खनालको यात्रामा अब लाग्ला त ब्रेक?
इलाम-१ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका खनाल २०४८ साल यताको निर्वाचनमा इलामबाट निर्वाचित हुदै आएका थिए। २०५१, २०६४, २०७० र २०७४ गरि ५ पटक इलाम-१ बाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद हुँदा प्रचण्ड-नेपाल खेमामा रहेका नेपाल पार्टी विभाजनका बेलामा एमालेका अध्यक्ष ओलीको चर्को आलोचना गर्ने नेता मध्यमा थिए। खनाल सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएको भए पनि मत गणनामा भने पछि परेका हुन्। उनलाई एमालेका महेश बस्नेतले ८ हजार ५६ मत ल्याएर पछि पारेका छन्। खनालको मत ६ हजार ८४९ छ।
किन पछि परे खनाल?
नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादीमा लागेपछि उनलाई चुनावमा चुनौती थपिएको थियो। स्थानीय तह निर्वाचनका बेलामा पनि खनाल निकट नेताहरुको पनि अपेक्षाकृत नतिजा आएको थिएन। त्यतिखेरै इलाममा कांग्रेसले धोका दिएको भन्दै खनालले चर्को अभिव्यक्ति दिएका थिए। उनले प्रतिनिधि सभामा गठबन्धन गर्ने बेलामा पनि एमालेसँग मिल्न सकिने भन्दै पार्टीभित्र बहस गराएका थिए। कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिका कारण पनि खनाललाई चुनावमा जित निकाल्न मुस्किल हुने बताइन्छ।
ओली, प्रचण्ड र नेपालको अग्रता
प्रचण्ड गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार छन्। उनी फराकीलो मत अन्तरले प्रतिस्पर्धी भन्दा अघि छन्। ७ हजार ५७ प्रचण्डको मत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ९२२ मत र एमालेका अब्दुस मियाले १ हजार ६७६ मत मात्रै ल्याएका छन्। हालसम्मको गणनामा। यस्तै ओलीले झापा-५ बाट १५ हजार ५१० मत ल्याएर अग्रता कायम गरिरहेका छन्। कांग्रेसका खगेन्द्र अधिकारीको ८९५५ मत मात्रै छ। नेपाल रौतहट-१ मा ८ हजार १९२ मत ल्याएर अग्रस्थानमा छन् भने एमालेका अजयकुमार गुप्ता ७ हजार ५९७ मत ल्याएर पछ्याइरहेका छन्।