PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ओलीलाई 'पेले'सँग तुलना गरेका कृष्णगोपालले काठमाडौंमा कसरी निकाले जित?



पहिलोपोस्ट

ओलीलाई 'पेले'सँग तुलना गरेका कृष्णगोपालले काठमाडौंमा कसरी निकाले जित?

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले जित निकालेका छन्। श्रेष्ठको जित एमालेका लागि दोस्रो जित हो। यसअघि ललितपुर-२ बाट एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका थिए।

श्रेष्ठले ११ हजार ९५६ मत पाएर काठमाडौंमा एमालेको खाता खोलेको हो। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६२ मत पाए। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत मात्र पाइन्। 

नेकपा एमालेको विभाजनका बाबजुत पनि श्रेष्ठले काठमाडौंमा एमालेका तर्फबाट जित निकालेका हुन्। यसअघि काठमाडौं १ मा किरण पौडेल, काठमाडौं ४ मा राजन भट्टराई पराजित हुँदा श्रेष्ठले जितेका हुन्। उनी यसअघि २०७४ को निर्वाचनमा पनि काठमाडौं-९ बाटै चुनाव जितेका थिए।

२०४८ मा काठमाडौं ७ बाट संसदमा इन्ट्री गरेका श्रेष्ठ २०५१ मा पनि काठमाडौं ७ बाटै निर्वाचित भएका थिए। उनी प्रधानमन्त्री शेरबहादुर देउवा अघिको एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारका पालमा शिक्षामन्त्री भएका थिए।
 

कसरी जिते श्रेष्ठले?

श्रेष्ठ गठबन्धनका उम्मेदवारलाई हराउनमात्रै होइन एमालेले प्रतिनिधि सभा विघटनका बेलामा ओलीको पक्षमा लागेवापत गुमाएको जनमतलाई जोगाउन पनि सफल भएका छन्। दुईपटक प्रतिनिधि सभा विघटन गरेपछि काठमाडौंमा ओलीविरुद्ध जनमत तयार हुँदै गर्दा श्रेष्ठले आफ्नो अध्यक्षको बचाउ गरेका थिए। उनले ओलीलाई फुटबलका पेलेसँग तुलना गरेका थिए। उनको जितका लागि सत्ता गठबन्धनले काठमाडौं-९ मा माओवादी केन्द्रलाई उम्मेदवारी दिनु प्रमुख कारण भएको बताइन्छ।

एकातिर सहरी क्षेत्रमा माओवादी केन्द्रको कमजोर जनमत र अर्कोतिर गठबन्धनमा भोट ट्रान्सफर नहुँदा गोपालले सहज जित निकालेका हुन्। गठबन्धनभन्दा स्वतन्त्र पार्टीका उम्मेदवारले श्रेष्ठलाई चुनौती दिए। श्रेष्ठभन्दा तुलनात्मक रुपमा भट्टराई र पौडेल एमालेका आकर्षक तथा युवा उम्मेदवार हुन्। तर दुबै जना निर्वाचित उम्मेदवारसँग फराकिलो अन्तरले पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell