PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?



पहिलोपोस्ट

चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?

काठमाडौं : पछिल्लो समय राजनीतिमा नेपाली सेलिब्रेटीहरुको चासो बढ्दो छ। यसपटकको निर्वाचनमा पनि कलाकारिता क्षेत्रबाट थुप्रै सेलिब्रेटीहरुले उम्मेदवारी दिए। तर,अधिकांश उम्मेरदवारहरुले सोचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन्।

मोरङ क्षेत्र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अभिनेत्री रेखा थापा मतगणनामा पछि परेकी छिन्। पछिल्लो मतपरिणामअनुसार रेखा तेस्रो स्थानमा छिन्। मोरङमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा अग्र स्थान छन् भने पूर्वमन्त्री भानुभक्त ढकाल दोस्रोमा।

प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १३२ मत ल्याएका छन्। नेकपा एमालेका ढकालले १ हजार ५ ९ मत प्राप्त गर्दा रेखालाई भने ९०६ मत आएको छ।

त्यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धा गरिरहेका कमेडियन हिमेश पन्तको उपस्थिति पनि कमजोर छ। आफ्नै गृहजिल्ला धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पन्तले सोचे अनुसार मत पाएका छैनन्। पछिल्लो परिणामअनुसार हिमेश तेस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ७ हजार ३९ मत पाएका छन् भने एमालेका भूमि त्रिपाठीले ६ हजार ७७९ मत पाएका छन्। हिमेशले भने २ हजार १२० मत पाएका छन्।

काभ्रे क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रेका निर्देशक मनोज पण्डितले पनि निकै कम मत पाएका छन्। गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं र एमालेबाट गोकुल बाँस्कोटासँगको प्रतिस्पर्धामा स्वतन्त्रबाट उठेका पण्डितले ५ भोट ल्याएका छन्। 

काभ्रे क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं ६ हजार३१७ मत ल्याई अग्रस्थानमा छन्। त्यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा ५ हजार ३२३ मतका साथ दोस्रो स्थानमा छन् ।

दाङ क्षेत्र नम्बर ३ बाट उठेकी प्रतिनिधिसभा कोमल वली पनि दोस्रो स्थानमा छिन्। गठबन्धनबाट यस क्षेत्रमा कांग्रेसका दिपक गिरी प्रथम स्थानमा छन्। गिरीले ४ हजार ८०८ मत ल्याउँदा वलीले ४ हजार ८३ मत ल्याइन्।

त्यसैगरि, काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदारी दिएका गायक सञ्जय श्रेष्ठले हालसम्म २२१ मतमात्रै ल्याएका छन्। प्युठान प्रदेश (ख) बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका रोज राणा (सरोज थापा) दोस्रोमा छन्। राणाले हालसम्म १ हजार ११५ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हरिप्रसाद रिजाल १ हजार ३७१ मत ल्याएर अग्रस्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell