
काठमाडौं : मतदान सकिएको २ दिन बितिसक्दा पनि दोलखामा मतगणना सुरु हुन सकेको छैन। नेकपा एमालेले निर्वाचन आयोगमा धाँधली भएको भन्दै चुनावकै दिन उजुरी दर्ता गराएपछि गणना रोकिएको हो।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले उजुरी परेकाले छानबिनपछि मात्रै दोलखामा मतगणना हुने बताए। उनले अहिले उजुरी छानबिनकै क्रममा रहेको बताएका छन्। 'आयोगमा उजुरी आएपछि मतगणना रोकिएको हो। उजुरीमाथि छानबिन भएपछि गणना हुन्छ। अहिले के गर्ने भन्नेबारेमा विचाराधिन छ,' उनले भने।
नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधि सभाका सदस्यको उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले धाँधलीको आरोप लगाएर उजुरी दिएका हुन्। पाँच वटा मतदान केन्द्रमा धाँधली भएको उनको आरोप छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटकपटक सर्वदलीय बैठकका लागि सूचना जारी गर्दा पनि एमालेले विज्ञप्ती जारी गरेर आफ्नो उजुरीको सुनुवाइ नभएसम्म बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ।
एउटा मतपेटिका दलका कार्यकर्ताले फुटाएपछि अब के गर्ने भन्नेबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अलमलमा परेको छ। यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले लेखी पठाएपछि तत्कालका लागि मत गणना रोक्न आयोगले निर्देशन दिएको थियो।
दोलखामा बुथ कब्जाका घटना यसअघिका निर्वाचनमा पनि हुँदै आएको छ। २०७० को निर्वाचनमा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसका नेता जिपछिरिङ लामाले उजुरी दिएका थिए। यस्तै २०७४ को निर्वाचनमा कांग्रेसका रुद्रबहादुर खड्काले पनि उजुरी दिएका थिए। दुबैपटक उजुरीको सुनुवाइ भएको थिएन। यसपटक भने एमालेले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको हो।