PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?



प्रकाश भण्डारी

सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल कांग्रेसबाहेकका दलका लागि खासै देखिएको छैन।

प्रारम्भिक नतिजामा कांग्रेसबाहेक गठबन्धन दलका अधिकांश नेता पछि परेका छन्। कांग्रेससँग ठूलो मतको अपेक्षा गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरु पछि छन्। सत्ता गठबन्धनले पाँचै दलका कार्यकर्तालाई एकले अर्कोलाई मत हाल्न निर्देशन दिएको भए पनि कांग्रेसको मत ‘ट्रान्सफर’ नभएको अन्य दलको आरोप छ। नेपाली कांग्रेसको जनमत रहेको क्षेत्रमा अरु पार्टीका उम्मेदवारले न्युन मत पाइरहेका छन्। तर कांग्रेसका अधिकांश नेताहरु गठबन्धन दलको सहायता लिएर जित निकालिरहेका छन्।

गठबन्धन हुँदा पनि रोकिन्छ ह्याट्रिक जित!

स्थानीय चुनावमा ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका थिए। तर अहिले प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर ३ मा माओवादी केन्द्रका तर्फबाट गठबन्धनकी उम्मेदवार पम्फा भुसाल मतगणनामा निकै पछि परेकी छिन्। २०६४ र २०७४ मा ललितपुर ३ बाटै जित निकालेकी भुसाललाई यसपटक चुनाव जित्न मुस्किल छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्की र एमालेका उम्मेदवार अमृत खड्काले भुसाललाई पछि पारेका हुन्। उक्त क्षेत्रमा पनि कांग्रेसले भुसाललाई मत नदिएको आरोप माओवादी केन्द्रले लगाइरहेको छ।

नयाँ अनुहार पनि पराजितको दिशामा

काठमाडौं ९ मा पनि गठबन्धनका उम्मेदवार पराजित भएका छन्। एमालेका कृष्णगोपाल श्रेष्ठ १० हजार ९६२  मत ल्याएर निर्वाचित हुँदा माओवादीकी कल्पना धमलाले ६ हजार ४०२ मत मात्र ल्याएर तेस्रो बनिन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले टेकबहादुर पोखरेलले १० हजार ९६२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने। गठबन्धनमा मा‌ओवादी र एकीकृत समाजावादीका उम्मेदवार संकटमा परेको पुराना नेता भएको ठाउँमा मात्रै होइन माओवादीले युवा अनुहारका रुपमा उभ्याएकाहरुले पनि कमजोर जनमत ल्याइरहेका छन्। काठमाडौं ७ मा माओवादी केन्द्री मानुसी यमी भट्टराई पछि परेकी छिन्। उक्त क्षेत्रमा पनि माओवादी केन्द्रले कांग्रेसले असहयोग गरेको आरोप लगाएको छ।

‘कांग्रेसले हाम्रा उम्मेदवारलाई मत हालेनन्। कांग्रेसको मत नआएपछि नतिजा कमजोर नै छ,’ माओवादी केन्द्रका एक स्थानीय नेताले भने।

समाजवादीलाई पनि संकट

एकीकृत समाजवादीका लागि पनि कांग्रेसको मतले काम गरेको छैन्। गुल्मीमा एमालेका उम्मेदवार गोकर्ण विष्टले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई उछिनिरहेका छन्। झाँक्री ठूलो भर उक्त क्षेत्रमा कांग्रेसँग छ।

त्यसो त एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि यसपटकको निर्वाचनमा संकटमा परेका छन्। इलाम १ मा खनाललाई एमालेका महेश बस्नेतले पछाडि पारेका छन्।

उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर २ मा पराजित भइसकेका छन्।

हालसम्म नेकपा एकीकृत समाजवादीले ७ ठाउँमा मात्रै अग्रता कायम गर्न सकेको छ। २१ ठाउँमा गठबन्धनका तर्फबाट उम्मेदवारी एकीकृत समाजवादीले उम्मेदवारी दिएको थियो। एक स्थानमा खारेज भएको थियो।

माओवादीपछिको संकटमा जनमोर्चा

गठबन्धनमा सबैभन्दा संकटमा रहेको दल भने माओवादी केन्द्र छ। माओवादी केन्द्रका १६ उम्मेदवारले मात्रै अग्रता कायम गर्न सकेका छन्। प्रतिनिधि सभामा गठबन्धनको भागबण्डा अनुसार माओवादी केन्द्रले ४६ ठाउँमा उम्मेदवारी दिएको थियो। जसमा आधाभन्दा पनि कममा मात्रै माओवादीले अग्रता बनाएको हो।

मा‌ओवादी र एकीकृत समाजवादी मात्रै होइन गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चालाई पनि चुनावी गठबन्धन त्यति फलदायी भएको छैन्। प्युठानमा एमालेका उम्मेदवार सूर्य थापासँग दुर्गा पौडेल पछि परेकी छिन्।

कांग्रेसलाई मात्रै फाइदा

गठबन्धनका अरु उम्मेदवार पछि परिरहँदा ९१ ठाउँमा उम्मेदवारी दिएको कांग्रेस आधाभन्दा बढी ४६ ठाउँमा अग्रस्थानमा छ भने ४ ठाउँमा विजयी भइसकेको छ। केहीमा मतगणना सुरु हुन बाँकी नै छ। काठमाडौं १ मा प्रकाशमान सिंह झिनो मत अन्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्रम मिश्रसँग विजयी भए। काठमाडौं ४ मा गगन थापाले जित निकाल्दा मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली कांग्रेसकै तर्फबाट निर्वाचित भए। रसुवामा मोहन आचार्य पनि विजयी भइसकेका छन्।

काठमाडौं-५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेलले पछाडि पारेका छन्। उक्त क्षेत्रमा कांग्रेस एक्लैको नभइ गठबन्धन दलहरुको पनि राम्रै जनमत रहेको छ।

एमालेलाई घेराबन्दी गर्ने प्रचण्ड-नेपाल बुमर्‍याङ

एमालेबाट अलग भएपछि एकीकृत समाजवादीले सबैभन्दा धेरै एमालेको आलोचना गर्‍यो। त्यसमा साथ दिनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। प्रतिनिधि सभाको निर्वाचनलाई ‘संविधान मास्ने र जोगाउन खोज्नेको जनमत संग्रह’ भन्दै एमालेमाथि खनिएका प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि भने चुनावमा ‘बुमर्‍याङ इफेक्ट’ हुने देखिरहेको छ। एकीकृत समाजवादी र माओवादीतर्फ जाने मत पनि एमालेका नेताहरुलाई त एकातिर गइरहेकै छ भने अर्कोतिर कांग्रेसले एकीकृत समाजवादी र माओवादीलाई मत नहालेपछि ओली घेर्ने प्रचण्ड नेपालको नीति प्रत्यूपादक भइरहेको छ। कांग्रेसको मत गठबन्धनका नेताहरुलाई भन्दा युवा उम्मेदवार उठाएको रास्वपा पार्टीमा गइरहेको पनि चुनावी अभियानमा खटिएका गठन्धनका नेताहरुले बताइरहेका छन्।

यसकारण भएन कांग्रेसको मत ट्रान्सफर

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले पनि कांग्रेसले अरु पार्टीका उम्मेदवारलाई मत नदिएको बताए। उनले कांग्रेसको मत नेताको कमाण्डको मत नभएको टिप्पणी गरे। ‘कांग्रेस र माओवादीका बीचमा भोट बाँडफाँट हुँदै नभएको होइन तर हुनुपर्ने जति भएन। यो स्वभाविक पनि हो। कांग्रेसको मत नेताको कमाण्डको मत होइन। यो कुरा न माओवादीका नेताले थाहा पाए न कांग्रेसका। पार्टीहरु जति मिले पनि कांग्रेसका शुभेच्छुक र समर्थकलाई त्यसले छुदैन्,’ उनले भने।

विपरीत विचारका पार्टीबीच भएको तालमेलले सकारात्मक परिणाम दिन नसक्ने उनको भनाई छ। यसअघि २०७४ को स्थानीय तह निर्वाचनका बेलामा पनि माओवादी र कांग्रेसका बीचमा चुनावी तालमेल भएको थियो। तर सरकारमै रहेका बेलामा प्रचण्डले ओलीसँग सहकार्य गर्न पुगे। माओवादी र एमालेका बीचमा गठबन्धन भएपछि २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा दुई कम्युनिस्ट पार्टी दुई तिहाइ बहुमत नजिक पुगे। कांग्रेस जनमतका हिसाबले संकटमा परेको थियो।

आचार्यको विचरामा माओवादी केन्द्रलाई भोट नआउनुको कारण द्वन्द्वकालको असर पनि हो। माओवादीका कारण गाउँ छाडेर सहरमा बस्नेले माओवादीलाई मन नपराउँदा माओवादीको शहरी जनमत धरापमा परेको हो।

‘गाउँघर छोडेर आफ्नो थात थलोको माया मारेर शहरमा माइग्रेटेड भएको पपुलेशन छ। त्यसले यति चाँडै बिर्सिहाल्दैन,’ आचार्यले भने।

के फुट्नसक्छ गठबन्धन अब?

ओलीले दुईपटक प्रतिनिधि सभालाई विघटन गरेपछि गठबन्धन गर्न पुगेका प्रचण्ड-नेपाललाई स्थानीय तह निर्वाचनमा सफलता मिले पनि प्रतिनिधि सभाको नतिजा सन्तोषजनक आइरहेको छैन। जसको असर अब बन्ने नयाँ सरकारको अंक गणितमाथि पनि पर्ने छ। कांग्रेस सबैभन्दा ठूलो दल बन्दा पनि गठबन्धन दलकै संख्याले मात्रै सरकार बन्ने स्थिति नरहने आकलन गर्न थालिएको छ। त्यस बेलामा प्रचण्ड-नेपालको मुभ ओलीतिर हुन्छ या अहिलेको गठबन्धनमा कायम हुन्छ? भन्नेबारेमा गठबन्धनका नेताहरुले प्रारम्भिक मत परिणाममै मुख खोलिसकेका छैनन्। तर कांग्रेसले भोट ट्रान्सफर नगरेकोप्रति भने एकीकृत समाजवादी र माओवादीका नेताहरु रुष्ट हुन थालेका छन्।

स्थानीय तह निर्वाचनको परिणामपछि पनि एकीकृत समाजवादी र माओवादी केन्द्रभित्र एमालेसँग मिल्नुपर्ने बहस भएको थियो। एकीकृत समाजवादीका नेता खनाल र माओवादीभित्र प्रचण्ड निकट नेताहरुले नै ओ‌ली निकटहरुसँग अनौपचारिक छलफल चलाएका थिए त्यतिबेला। तर ओलीले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको बताएपछि कांग्रेससँगकै तालमेलललाई निरन्तरता दिन बाध्य भएका थिए प्रचण्ड-नेपाल। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि हुने संसदीय खेलमा कुन दल कता मिल्ने छ त्यसले अहिलेको सत्ता गठबन्धनको आयु निर्धारण गर्ने छ। जसको आधार अहिलेको गठबन्धनको चुनावी परिणाम बन्न सक्ने बताइन्छ। त्यो किन पनि स्वभाविक देखिन्छ भने सरकारका लागि हुने खेल प्रतिनिधि सभा निर्वाचनको सबै परिणाम नआउदै अनौपचारिक रुपमा सुरु भइसकेको छ, गठबन्धनका नेताहरुले प्रधानमन्त्रीमा आकांक्षा राखेर, जो गठबन्धनको निरन्तरतामा बाधक बन्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell