PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि



पहिलोपोस्ट

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन।

समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ।

प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार शाहले ९ हजार ४०५ र स्वतन्त्र उम्मेदवार रूपेशकुमार मण्डलले ३ हजार ९०५ मत हासिल गरेका छन्।

विजयी मण्डल प्रदेश नम्बर १ को प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सांसद् हुने सम्भावना छ। उनी ७९ वर्षका छन्।

प्रजातन्त्रको पुनःस्थापना भएपछि २०४७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका उनी त्यसअघि पञ्चायतको राजनीतिमा सक्रिय थिए। मण्डल २३ वर्षका उमेरमै २०२३ सालमा मोरङको तत्कालीन कदमाहा गाउँ पञ्चायतका प्रधानपञ्च भए। त्यसपछि २०२६ सालमा तत्कालीन मोरङ जिल्ला पञ्चायतको जिल्ला सभामा चुनिए। त्यसलगत्तै उनी २०२८ सालमा पञ्चायतको वर्गीय संगठन नेपाल किसान सङ्घको जिल्ला सभापति भए। त्यसपछि लामो समयसम्म उनलाई पञ्चायतको राजनीतिले कुनै आकर्षक पद दिएन तथापि पञ्च भने भइरहे।

नेपाली कांग्रेसमा उनी त्यस पार्टीको भ्रातृ सङ्गठन नेपाल किसान संघको मोरङ जिल्ला सभापति भए।

मण्डलले २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नम्बर ४ बाट टिकट पाएका थिए। तर त्यस बेलाको मधेसी जनअधिकार फोरमका रामानन्द मण्डलसित १ हजार २०० मतले उनी पराजित भए। दोस्रो संविधान सभा २०७० मा पनि उनले सोही क्षेत्रबाट टिकट पाए। यस चुनावमा पनि उनले माओवादी केन्द्रका शिवकुमार मण्डलसित केवल ८ मतले पराजय भोग्नुपर्‍यो।

जीवनको उत्तरार्धमा यस पटक पाएको टिकट भने उनका लागि लाभकारी सिद्ध भएको छ।

चुनाव जितेपछि उनले पहिलोपोस्टलाई भने, ‘अब मैले मेरा लागि केही गर्नु छैन। म जे गर्छु, त्यो जनताका लागि नै गर्छु। असल शासन र भ्रष्टाचारको नियन्त्रण मेरो मूल एजेन्डा हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell