
साविक विश्वकप विजेता फ्रान्सले अस्ट्रेलियालाई हराउँदै विश्वकपमा सानदार सुरुवात गरेको छ। अल जनुओब स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै फ्रान्सले सानदार सुरुवात गरेको हो।
खेलको सुरुवात भने फ्रान्सको कमजोर भएको थियो। खेलको नवौं मिनेटमा अस्ट्रेलियाका क्राइग गुडविनले गोलगर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। लगत्तै केही राम्रो अवसरहरु पनि अस्ट्रेलियाले बनाएको थियो। तर खेलको २७ औं मिनेटमा एड्रिएन रेबिओटले गोल गरेसँगै फ्रान्स खेलमा फर्कियो। खेलको ३२ औं मिनेटमा ओलिभर जिरुडले गोल थप्दा पहिलो हाफमा फ्रान्स २-१ ले अघि रह्यो। दोस्रो हाफमा किलियन एम्बाप्पेले ६८ मिनेट र जिरुडले फेरि ७२ औं मिनेटमा गोल गर्दा फ्रान्सले ४-१ गोलको सहज जित निकाल्न सफल भयो। जिरुडको यो गोलसँगै उनी फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा थिअरी हेन्रीसँग बराबरी गरेका छन्। अस्ट्रेलियाविरुद्धको २ गोलसँगै उनले करियरको ५१ औं अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
समूह 'डी' मा फ्रान्स र अस्ट्रिलियासहित ट्युनिसिया र डेनमार्क छन्। गएराति सम्पन्न अर्को खेलमा ट्युनिसिया र डेनमार्क गोलरहित बराबरीमा रोकिएका थिए।