PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कांग्रेसले १३ सिट जित्दा कहाँ - कहाँ लियो बदला, कुन क्षेत्र गुमायो?



नेत्र तामाङ

कांग्रेसले १३ सिट जित्दा कहाँ - कहाँ लियो बदला, कुन क्षेत्र गुमायो?

काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार बिहान ९ बजेसम्मको नतिजा हेर्दा कांग्रेसले १३ स्थानमा जित निकालेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे।

यसैगरी कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट चौथो जित निकाले। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सिंहले झिनो मतले पराजित गरेका हुन्।

यसैगरी कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ बाट जित निकालेका छन्। यस क्षेत्रबाट गगनले ह्याट्रिक जित निकालेका हुन्।

रसुवामा मोहन आचार्यले दोस्रो जित निकालेका छन्। यसअघि पनि उनले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए।

काठमाडौं १० मा राजेन्द्र केसी राजनले ह्याट्रिक जित निकालेका छन्। प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्।

कहाँ कहाँ बदला?

सत्ता गठबन्धनसँग तालमेल गरी निर्वाचनमा उत्रेको कांग्रेसले यसपटक एमालेको पकड क्षेत्रलाई आफ्नो पक्षमा ल्याउने क्रम जारी राखेको छ। यसअघि एमालेले जितेको मनाङ र मुस्ताङ यसपटक कांग्रेसले फिर्ता ल्याएको छ। मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

यसैगरी काठमाडौं ३ मा एमालेका कृष्णकुमार राईलाई पराजित गर्दै सन्तोष चालिसे निर्वाचित भएका छन्। काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन्। अघिल्लोपटक पोखरेल कांग्रेसका डा प्रकाशशरण महतलाई पराजित गर्दै संसदमा छिरेका थिए।

सुर्खेत २ मा ह्दयराम थानीले आफ्नो स्थानमा ब्याक भएका छन्। थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। विसं २०७४ मा एमालेका नवराज रावतसँग थानी पराजित भएका थिए। थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।

ललितपुर १ मा उदयशम्शेर राणाले एमालेको विरासत तोडेका छन्। यसअघि यहाँ एमालेका नवराज सिलवाल निर्वाचित भएका थिए। पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन्। यसअघि यहाँबाट मधेशवादी दलका नेता लक्ष्मणलाल कर्ण निर्वाचित भएका थिए।

तनहुँ २ मा शंकर भण्डारीले दोस्रो प्रयासमा जित निकालेका छन्। अघिल्लो निर्वाचनमा भण्डारी वाम गठबन्धनका केदार सिग्देलसँग पराजित भएका थिए।

बाँके २ मा भने कांग्रेसले आफ्नो विरासत गुमाएको छ। दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको यो क्षेत्रमा कांग्रेसले सुदिपनरसिंह राणालाई उम्मेदवार बनाएको थियो। गठबन्धनमा राम्रो मत भए पनि यसपटक एमालेको साथ पाएर यो क्षेत्रमा राप्रपाका डा धवल शम्शेर राणा निर्वाचित भएका छन्। यसअघि यो क्षेत्रमा जसपाका मोहम्मद इस्तियाक राई निर्वाचित भएका थिए। यसपटक पनि निर्वाचनमा उत्रेका उनी पराजित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell