विराटनगर : मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये २ वटामा नेपाली कांग्रेस, २ वटामा नेकपा एमाले र एउटा–एउटामा नेकपा माओवादी केन्द्र र एमालेका विद्रोही उम्मेदवार अगाडि देखिएका छन्।
निर्वाचन कार्यालयले प्रकाशित गरेको पछिल्लो परिणामअनुसार क्षेत्र नं. ६ मा कांग्रेसका डा. शेखर कोइराला र ३ मा डा. सुनिलकुमार शर्मा अगाडि छन्। क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवार क्रमशः घनश्याम खतिवडा र ऋषिकेश पोखरेलले अग्रता लिएका छन्।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी र ५ मा एमालेका विद्रोही योगेन्द्र मण्डल (जोगी सर) अघि बढेका छन्।
क्षेत्र नम्बर ६ मा हालसम्म २८ हजार २१७ मतगणना भएको छ। जसमा कांग्रेसका डा. कोइरालाले ११ हजार १०९ र एमालेका लालबाबु पडितले ८ हजार ९५० मत ल्याएका छन्।
क्षेत्र नं. ३ मा पनि कांग्रेसका डा. शर्माले १२ हजार ३३१ मत प्राप्त गर्दा एमालेका भानुभक्त ढकालले ७ हजार ८०४ मत हासिल गरेका छन्।
क्षेत्र नं. १ मा एमालेका खतिवडा ७ हजार २९ मतका साथ अघि बढिरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिगबहादुर लिम्बूले ६ हजार ४५८ मत ल्याएका छन्।
क्षेत्र नं. २ मा एमालेका ऋषिकेश पोखरेलले ९ हजार ७३६ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका ९ हजार ३६७ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ४ मा ३० हजार ६५३ मत गन्दा माओवादीका मोदीले १७ हजार २१३ मत ल्याएर आफ्नो अग्रतालाई स्थिर राखेका छन्। उनलाई एमालेका विनोद ढकालले ९ हजार ३४८ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर ५ मा स्वतन्त्र बनेर उठेका एमालेका बागी उम्मेदवार जोगी सरको १२ हजार ३५ मत ल्याइसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले ९ हजार ११९ मतसहित पछ्याइरहेका छन्।
यस क्षेत्रमा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ४७० मत पाएका छन्।