PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शहरी जनमतमा बढारिए एमाले र माओवादी, एक अर्काविरुद्ध उत्रिँदा कांग्रेस र रास्वपाले लगाइदिए झड्का



प्रकाश भण्डारी

शहरी जनमतमा बढारिए एमाले र माओवादी, एक अर्काविरुद्ध उत्रिँदा कांग्रेस र रास्वपाले लगाइदिए झड्का

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शहरी जनमतबाट बढारिएको छन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादीले चुनावी तालमेल गरेपछि कांग्रेस नराम्रोसँग पराजित भएको थियो। यसपटक भने कांग्रेसले काठमाडौंमा बदला लियो। एमालेले काठमाडौं-९ मा मात्रै चुनाव जितेर काठमाडौंमै शुन्य हुनबाट जोगियो। माओवादी केन्द्र भने काठमाडौं उपत्यकामै निल हुने अवस्थामा छ। काठमाडौं-२ मा माओवादी केन्द्रकी ओनसरी घर्ती तेस्रो बनिन्। काठमाडौं-७ मा मानुसी यमी पराजित भइन भने कल्पना धमलाले पनि माओवादीका तर्फबाट जित निकाल्न सकिनन्।

ललितपुर-३ बाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी उपमहासचिव तथा उर्जा मन्त्री पम्फा भुसाल पनि मतगणनामा फराकिलो अन्तरले पछि परेकी छिन्। माओवादीका लागि सत्ता गठबन्धनको साथ भए पनि चुनावमा उम्मेदवारले जित निकाल्न नसकेका हुन्। एमाले पनि काठमाडौंमा नराम्रोसँग पराजित भएको छ। २०७४ को निर्वाचनमा एमालेकातर्फबाट ६ जना निर्वाचित भएकोमा यसपटक १ जनाले मात्रै चुनाव जिते। काठमाडौं-९ मा कृष्णगोपाल श्रेष्ठले एमालेका तर्फबाट चुनाव जितेका हुन्।

काठमाडौं-२ बाट माधव नेपाललले २०७४ मा एमालेबाट जितेका थिए। हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष छन्। काठमाडौं-३ मा कृष्ण राई, काठमाडौं-५ मा ईश्वर पोखरेल, काठमाडौं-७ मा रामवीर मानन्धर, काठमाडौं-८ मा जीवनराम श्रेष्ठले चुनाव जितेका थिए। राई र पोखरेल एमालेबाट पराजित भए भने मानन्धरले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। उनले पनि चुनाव जित्न सकेनन्। श्रेष्ठ नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं-८ मा पराजित भएका छन्। काठमाडौंको जनमतमा एमाले यसपटक नराम्रोसँग पराजित भएको छ।

पार्टी विभाजन र सत्ता गठबन्धनले आफूलाई चुनावमा असर नपर्ने दावी गरिरहेको एमालेका लागि शहरी जनमतमा झट्का लागेको हो। स्थानीय तह निर्वाचनकै बेलामा पनि शहरमा कमजोर जनमत रहेको विश्लेषण गरिसकेको नेकपा माओवादी केन्द्र पनि काठमाडौं उपत्यकामै शुन्य हुने अवस्थामा छ। ललितपुर-१ मा यसपटक एमालेका नवराज सिलवाल पराजित भएका छन्। २०७४ मा सिलवालसँगै पराजित भएका उदयशम्शेर राणाले यसपाली सिलवालसँग बदला लिएका हुन्। ललितपुर २ मा २०७४ मा एमालेका कृष्णलाल महर्जनले चुनाव जितेका थिए। उक्त क्षेत्रमा भने एमाले आफ्नो जनमत जोगाउन सफल भएको छ। ललितपुर-२ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्।

काठमाडौं बाहिरका सहरमा पनि एमाले र माओवादी आफ्नो जनमत जोगाउन असफल देखिएका छन्। चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डे र चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल मत गणनामा पछि परेका छन्। चितवन-३ मा एमालेले उम्मेदवार उठाएको थिएन। चितवन-३ मा माओवादीका तर्फबाट गठबन्धनका उम्मेदवार डाक्टर भोजराज पोखरेल पनि बुधवार दिउँसो सम्मको मत गणनामा राप्रपाका उम्मेदवार बिक्रम पाण्डेसँग पछि परेका छन्।  हालसम्म एमालेले ३ ठाउँमा मात्रै जित निकालेको छ भने माओवादी केन्द्रले खाता खोल्नै सकेको छैन।  शहरी क्षेत्रको कम्युनिस्ट पार्टीको जनमतलाई रास्वपा र कांग्रेसले खोसेका छन्। काठमाडौंमा एमालेले चुनाव जितेका ठाउँमा यसपटक रास्वपाका र कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।

काठमाडौं २ मा यसअघि एमालेका उम्मेदवार मणिराम फुयालललाई रास्वपाकी उम्मेदवार सोबिता गौतमले पराजित गरिन्। काठमाडौं-३ मा कृष्ण राईलाई कांग्रेसका सन्तोष चालिसेले हराए। काठमाडौं ४ मा गगन थापाले एमालेका राजन भट्टराई कांग्रेसका गगन थापासँग पराजित भए। २०७४ मा पनि उक्त क्षेत्रमा थापा र भट्टराईको ब्याटलमा एमाले पराजित भएको थियो। काठमाडौं ५ मा एमालेको जनमत कांग्रेसले खोस्यो। एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेलले कांग्रेसका प्रदीप पौडेलसँगको प्रतिस्पर्धामा एमालेलाई जित दिलाउन असफल रहे। काठमाडौं-६ मा एमालेका सर्वेन्द्र खनाल रास्पाका उम्मेदवार शिशिर खनालसँग पछि परेका छन्।

काठमाडौं-७ मा एमालेका श्याम घिमिरे रास्वपाका गणेश पराजुलीसँग पराजित भए। २०७४ मा एमालेका तर्फबाट रामवीर मानन्धरले उक्त क्षेत्रमा फराकिलो अन्तरमा जितेका थिए। काठमाडौं ८ मा पनि एमाले जित जोगाउन सकेन। यसपटक एमालेका शिवसुन्दर राज वैद्य रास्वपाका विराजभक्त श्रेष्ठसँग पराजित भए। एमालेले जनमत कहाँसम्म गुमाएको छ भने शीर्ष नेताहरु नै विभिन्न ठाउँको चुनावी प्रतिस्पर्धामा पछि परेका छन्। महासचिव शंकर पोखरेल दाङ-२ मा मत गणनामा पछि परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell