
काठमाडौं : काठमाडौँ १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन्।
काठमाडौं–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्दै जित निकालेका हुन्। श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन्।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए। यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरे।
यस्तै प्रदेशसभा–२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरे। दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थिए।
काठमाडौँ–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन्।