PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बलियो जर्मनीलाई दर्शकको समर्थनमा पराजित गर्ला त जापानले?



पहिलोपोस्ट

बलियो जर्मनीलाई दर्शकको समर्थनमा पराजित गर्ला त जापानले?
Photo : Reuters

मंगलवार विश्वकपकै 'अण्डरडग' साउदी अरेबियाले उपाधी दाबेदार अर्जेन्टिनालाई पराजित गर्‍यो। यो तथ्य फुटबल प्रेमीहरुका लागि अप्रत्यासित थियो। तर, साउदीले अरबी भूमिमै यो गरेर देखायो।

अघिल्लो विश्वकपमा यस्तै अप्रत्यासित नतिजा भोग्ने टोली थियो जर्मनी। त्यसबेलाको साविक विजेता जर्मनीले मेक्सिकोसँग १-० ले पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै पुनरागमन पनि गर्‍यो जर्मनीले। तर, तेस्रो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियासँग २-० गोलको पराजय ब्यहोर्दै प्रतियोगिताबाटै बाहिरियो।

अहिले २०२२ को विश्वकपमा पनि जर्मनीले अर्को एसियाली टोली जापानसँग खेलेर सुरु गर्दैछ। खालिफा इन्टरनेशनल स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ।

'हामीलाई ठूलो प्रेरणा छ। हामीलाई थाहा छ साढे चार वर्ष अघि जे भयो भयानक भयो,' जर्मन खेलाडी जोसुवा किममिचले भनेका छन्, 'पहिलो खेल निकै महत्वपूर्ण छ। युरो कपमा (गत वर्ष) हामीले पहिलो खेल हार्‍यौं र हामीले त्यो जित्न सकेनौं। यो एकदम एक अनुभव थियो र मलाई आशा छ कि हामी जित्नेछौं।'

जर्मनी विश्व वरियताको ११ औं स्थानमा छ, जापानभन्दा १३ स्थान माथि। जापानी कप्तान माया योशिदा पहिलो खेल चुनौतीपूर्ण हुने र समूह चरणबाट अघि जान यो खेल महत्वपूर्ण हुने बताए।

'हामी साहसी हुन आवश्यक छ। जर्मनी शीर्ष टोली हो, यो सजिलो छैन, तर हामी प्रत्येकले कडा मेहनत गर्छौं। हामीमा राम्रा गुणहरू छन् र हामी एकताबद्ध छौं,' उनले भने, 'तिनीहरूसँग राम्रो गुण, गति र गति र प्राविधिक क्षमता छ। हामीलाई आक्रमण गर्ने सम्भावना कम मिल्नेछ।'

विश्वकपको इतिहासमा जर्मनीले असफलता भन्दा धेरै सफलता नै देखेको छ। तर, जापानविरुद्ध आफ्नो २०२२ अभियान सुरु गर्ने तयारी गर्दा रसिया विश्वकपको अनुभवलाई दोहोर्‍याउन चाहँदैन जर्मनी।

चारपटकको विश्व च्याम्पियन हो जर्मनी। यो शताब्दीमै मात्रै पनि पाँच विश्वकपमध्ये चारवटासेमिफाइनलमा पुगेको छ जर्मनी। यो अवधिमा अन्य कुनै पनि अन्य राष्ट्रहरू भन्दा राम्रो रेकर्ड हो। तर, अपवाद उही २०१८ को विश्वकपमा आएर ठोकिन्छ। त्यसपाला सन् १९५० पछि पहिलो पटक उनीहरु विश्वकपको समूह चरण पार गर्न असफल भएका थिए।

जारी विश्वकपमा जर्मनी समूह 'ई' मा जापान, कोस्टारिका र स्पेनसँग छन्। यसपटक विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेको जर्मनीलाई विश्वकपको लयको विरासत जोगाउने समेत चुनौती हुनेछ।

अर्कोतर्फ आजको प्रतिस्पर्धी जापानले पछिल्ला ८ विश्वकप खेलमा एउटामा मात्र जित निकालेको छ। रसिया विश्वकपमा उद्घाटन खेलमा जापानले कोलम्बियामाथि २-१ गोलको जित निकाल्दै राम्रो सुरुवात गरेको थियो। लगत्तै सेनेगलसँग बराबरी खेलेपछि अन्तिम १६ मा पुग्न जापानलाई ४ अंक पर्याप्त बनेको थियो। र, अन्तिम १६ मा बेल्जियमसँग २-० को अवस्थाबाट पछि पर्दै ३-२ गोलअन्तरको पराजय ब्यहोरेको थियो।

अर्कोतर्फ एसियाली मुलुकमा इरान पछि जापान माथिल्लो वरीयताको मुलुक हो।

बुधबार खलिफा इन्टरनेशनल स्टेडियममा ४० हजार दर्शकका अगाडि जापानका दाइची कामाडा, काओरु मितोमा र ताकुमी मिनामिनोले मिडफिल्ड 'डोमिनेन्स' भएको जर्मनीका इल्के गुन्डोगन, जोशुआ किमिच र जमाल मुसियालासँग प्रतिस्पर्धा गर्नेछन्।

फ्रान्कफर्टबाट खेलेका जापानी खेलाडी दाइची कामदासँग जर्मन फुटबलको राम्रो अनुभव छ। बुन्डेसलिगामा खेल्ने अन्यमा स्टुटगार्टका वाटारु एन्डो र रित्सु डोआन जस्ता जर्मनीमा अनुभव बोकेका खेलाडी जापानसँग छन्।

आज जापानको लागि जित अप्ठ्यारो हुनेछ। तर यदि उ राउन्ड अफ १६ मा पुग्ने हो भने प्रशिक्षक हाजिमे मोरियासुका खेलाडीहरूले बलियो जर्मन टोलीविरुद्ध मौकाहरू बनाउनु पर्छ।

जापानी कप्तान माया योसिदाले आजको खेलमा एसियाली समर्थकको साथ मिल्ने विश्वास गरेका छन्।

'पक्कै पनि हामीले इरान र कतारको खेल हेरेका छौं। यो एसियाली देशहरूबाट कठिन सुरुवात भएको छ,' जापानी कप्तान योशिदाले खेलअघिको कन्फ्रेन्समा भने। यो कन्फ्रेन्स साउदी अरेबियाको उल्लेखनीय विजय भन्दा पहिले आयोजित गरिएको थियो।

'मलाई आशा छ हामीसँग एसियाबाट आउने धेरै समर्थकहरू हुनेछन्। कतारमा, भारत र फिलिपिन्स जस्ता अन्य देशहरू, विशेष गरि एसियाका धेरै मानिसहरू छन्,' उनले भने, 'पक्कै पनि, हामी जापानको प्रतिनिधित्व गर्दैछौं। तर, सँगै हामी एसियाको पनि प्रतिनिधित्व गर्दैछौं। आशा छ, धेरै फ्यानहरू स्टेडियममा आउनेछन्।'

उनले थप भने : जापानी मात्र नभई धेरै एसियाली फ्यानहरूले हामीलाई समर्थन गर्न गइरहेका छन् किनकि जर्मनी यति बलियो छ कि हामीलाई केही (अतिरिक्त) समर्थन चाहिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell