![राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जिते चुनाव](https://pahilopost.com/assets/upload/contentthumb/chitrabahadur.jpg)
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभाको निर्वाचनमा बागलुङ-१ बाट निर्वाचित भएका छन्। २१ हजार ४५१ मत ल्याएर केसी निर्वाचित भएका हुन्।
नेकपा एमालेका सूर्यप्रसाद पाठकले केसीलाई पछ्याएको भए पनि जित्न भने सकेनन्। पाठकले १८ हजार ८२५ मत पाए। अरु ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले चुनौति दिए पनि बागलुङमा भने उक्त पार्टीका उम्मेदवारले कमजोर मत ल्याएका छन्। रास्वपाका खिमानन्द कँडेलले ९ हजार १८१ मत मात्रै ल्याए।
८१ वर्षका केसी यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उपप्रधानमन्त्री समेत बनेका थिए। संघीयता खारेजीको एजेण्डा बोकिरहेको जनमोर्चाले यसअघि प्रतिनिधिसभामा एक जना उपाध्यक्ष दुर्गा पौडेललाई मात्रै सांसद बनाउन सकेको थियो। यसपटक सत्ता गठबन्धनका तर्फबाट पौडेल र केसी दुबैजना उम्मेदवार बनेका हुन्।
केसीले सत्ता गठबन्धनमा पनि फरक मत राख्दै आएका छन्। केसी निर्वाचित हुँदा उक्त पार्टीका अर्का उम्मेदवार पौडेल भने प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पछि परेकी छिन्। २०५६ मै बागलुङ २ बाट केसीले संसदको यात्रा तय गरेका थिए।