PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

जब भत्कियो २३ वर्षपछि एमालेको किल्ला, कांग्रेसी कार्यकर्ताले लगाईदिए २८ किलोको माला



रिना थापा

जब भत्कियो २३ वर्षपछि एमालेको किल्ला, कांग्रेसी कार्यकर्ताले लगाईदिए २८ किलोको माला
फोटो : राजकुमार आले

पोखरा : तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। यी दुवै क्षेत्रमा टक्कर हुन्छ नेकपा एमाले र नेपाली कांग्रेसको। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले यी दुवै क्षेत्रमा 'क्लिन स्वीप' गरेको थियो। सो निर्वाचन बाहेक हरेकपटकको चुनावमा क्षेत्र नं १ मा कांग्रेसले आफनो जीत हात पार्दै आएको छ। यता, क्षेत्र नं २ मा भने एमालेले २३ वर्षदेखि विरासत समाल्दै आएको छ।

तनहुँ २ लाई एमालेको गढ मानिन्छ। यसपटक भने यो क्षेत्रमा कांग्रेसले जीत निकालेर इतिहास रचेको छ। कांग्रेसका केन्द्रिय सदस्य रहेका शंकर भण्डारीले ३० हजार ६०४ मत ल्याउँदै एमालेका किरण गुरुङलाई हराएका छन्। अघिल्लो पटक यसै क्षेत्रको प्रदेशसभा निर्वाचनबाट निर्वाचित भएका गण्डकीका अर्थमन्त्री समेत बनेका गुरुङले २५ हजार १३० मत ल्याए।

विरासत समाल्दै आएको एमालेको क्षेत्रमा गठबन्धन भर्सेस एमाले मैदान थिए। संघमा वनमन्त्री बनिसकेका किरण र शंखरबिचको प्रतिस्पर्धा रोचक थियो। दुबै पूर्व वनमन्त्रीद्वय। बाजी कसले मार्ला? चासो र चर्चा थियो।

२०५१ सालमा बाहेक यसक्षेत्रबाट एमालेले लगातार जीत हासिल गरेको छ। तत्कालिन क्षेत्र नं ३ मा २०४८ सालमा किरण गुरुङले कांग्रेसका पदमबहादुर आलेलाई पराजित गर्दै संसदको यात्रा सुरु गरे।

२०५१ सालको मध्यावधि निर्वाचन भयो। यस क्षेत्रबाट कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई हराउँदै संसदको यात्रा सुरु गरे। त्यसबेला अमरराजसँग हार ब्यहोरेका एमाले टुकराजले २०५६ सालमा कांग्रेसका विष्णुविर आलेलाई पराजित गर्दै बदला लिए। त्यसपछि यस क्षेत्रबाट कांग्रेसले जीत निकाल्न सकेको थिएन।

२०६४ मा संसदीय यात्रामा फर्किदै किरण गुरुङले कांग्रेसका ताराराज रानालाई हराए। २०७० मा टुकराज दोहोरिँदै कांग्रेसका जितप्रकाश आलेलाई हराएर एमालेको विरासत समाल्न सफल भए।

संघीयता आएपछि एमालेका किल्ला मानिएको क्षेत्र नं ३, क्षेत्र नं २ मा गाभियो। तर, एमालेले आफनो विरासत २०७४ को निर्वाचनमा पनि बचाउन सफल बन्यो।

२०७४ सालको निर्वाचनमा एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई हराएका थिए। त्यससमय केदारले ३२ हजार ९२४ मत ल्याउँदा शंकरले २९ हजार ६४५ मत ल्याएका थिए। उनै शंखरले यसपटकको निर्वाचनमा एमालेको किल्ला भत्काएर इतिहास रचेका छन्। २८ वर्षअघि कांग्रेसले यो क्षेत्रमा जीत निकाल्न सफल भएको थियो, त्यसपछि यो क्षेत्रमा एमालेको दबदबा रह्यो। त्यसैले यसटक भण्डारीलाई २८ किलोको माला लगाउँदै बधाई दिए कांग्रेसकी कार्यकर्ताले। 

आज बुधबार शंकर जीतेको नतीजा आएपछि एमालेको २३ बर्षको विरासत भत्कियो। त्यहीँ खुशीयालीमा कांग्रेस निकट व्यवसायी निरबहादुर पुनले शंकरलाई २८ किलोको माला लगाइदिएका हुन्।

संघमा साथ दिएको माओवादी प्रदेशमा पराजित

२३ वर्ष लामो एमालेको किल्ला भत्काउन कांग्रेसलाई मात्र सहज थिएन। तर, गठबन्धनबाट नेकपा माओवादीको साथ पाएपछि भने कांग्रेस जीत निकाल्न सफल बन्यो। कांग्रेसका नेता पनि यो जीतको हकदार माओवादी पनि रहेको बताउँछन्।

जिल्लामा माओवादीको पनि धेरथोर प्रभाव छ। बामगठबन्धन बनाउँदा कांग्रेसले सबै क्षेत्रमा हार व्योहोर्नु परेको थियो।

यसक्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शंकर विजयी हुँदा प्रदेश २ (क) माओवादीको भागमा र (ख) कांग्रेसको भागमा पर्‍यो। प्रतिनिधिसभा क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र (ख)मा कांग्रेसले आफनो जीत निकाल्दा (क)मा माओवादीले हार व्याहोर्नु पर्‍यो।

२ (क) मा एमालेका श्याम राजा महतले १५ हजार ६६५ मत ल्याउँदै विजयी हुँदा माओवादीका राजेन्द्र केसरी न्यौपानेले १३ हजार ८९९ मत पाए। यता, २ (ख)मा भने कांग्रेसका जित प्रकाश आले मगरले १३ हजार ८६० मत ल्याउँदै विजयी भए।

यस क्षेत्रबाट माओवादीको मात्र हारमा गठबन्धनप्रति असन्तुष्टी जाहेर गरेका छन् माओवादीका जिल्ला संयोजक ओमराज आलेले। नतिजा आइसकेपछि सामाजिक सञ्जालमा उनले गठबन्धनप्रति असन्तुष्टी राखेका थिए।

‘राजेन्द्र केशरीको अनेपिक्ष पराजयले गठबन्धन सम्बद्ध दलहरु विशेषगरि नेपाली कांग्रेसबाट गम्भीर घात भएको महसुस भएको छ। यसले गठबन्धनको राजनीतिक संस्कार र लोकतन्त्रको मुल्यमान्यतालाई थप धुमिल बनाएको छ,’उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell