PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेसले कुन कुन क्षेत्र खोस्यो एमालेबाट, गठबन्धन गर्दा पनि कहाँ कहाँ गुमायो?



पहिलोपोस्ट

कांग्रेसले कुन कुन क्षेत्र खोस्यो एमालेबाट, गठबन्धन गर्दा पनि कहाँ कहाँ गुमायो?

काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार साँझसम्मको नतिजा हेर्दा कांग्रेसले १५ स्थानमा जित निकालेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे।

यसैगरी कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट चौथो जित निकाले। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सिंहले झिनो मतले पराजित गरेका हुन्।

यसैगरी कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ बाट जित निकालेका छन्। यस क्षेत्रबाट गगनले ह्याट्रिक जित निकालेका हुन्। रसुवामा मोहन आचार्यले दोस्रो जित निकालेका छन्। यसअघि पनि उनले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए।

काठमाडौं १० मा राजेन्द्र केसी राजनले ह्याट्रिक जित निकालेका छन्। प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार ६ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्।

एमालेबाट कहाँ कहाँ खोस्यो कांग्रेसले?

सत्ता गठबन्धनसँग तालमेल गरी निर्वाचनमा उत्रेको कांग्रेसले यसपटक एमालेको पकड क्षेत्रलाई आफ्नो पक्षमा ल्याउने क्रम जारी राखेको छ। यसअघि एमालेले जितेको मनाङ र मुस्ताङ यसपटक कांग्रेसले फिर्ता ल्याएको छ। मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

यसैगरी काठमाडौं ३ मा एमालेका कृष्णकुमार राईलाई पराजित गर्दै सन्तोष चालिसे निर्वाचित भएका छन्। काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन्। अघिल्लोपटक पोखरेल कांग्रेसका डा प्रकाशशरण महतलाई पराजित गर्दै संसदमा छिरेका थिए।

सुर्खेत २ मा ह्दयराम थानीले आफ्नो स्थानमा ब्याक भएका छन्। थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। विसं २०७४ मा एमालेका नवराज रावतसँग थानी पराजित भएका थिए। थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।

ललितपुर १ मा उदयशम्शेर राणाले एमालेको विरासत तोडेका छन्। यसअघि यहाँ एमालेका नवराज सिलवाल निर्वाचित भएका थिए। पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन्। यसअघि यहाँबाट मधेशवादी दलका नेता लक्ष्मणलाल कर्ण निर्वाचित भएका थिए।

तनहुँ २ मा शंकर भण्डारीले दोस्रो प्रयासमा जित निकालेका छन्। अघिल्लो निर्वाचनमा भण्डारी वाम गठबन्धनका केदार सिग्देलसँग पराजित भएका थिए।

ओखलढुंगामा पनि कांग्रेसका रामहरि खतिवडाले जित निकालेको छ। यसअघि यहाँ एमालेका यज्ञराज खतिवडाले जितेका थिए। यसपटक पनि दुई परिचित प्रतिद्वन्द्वी मैदानमा थिए। खतिवडाले बदला लिँदै यो क्षेत्र एमालेबा६ खोसेको छ।

यसैगरी झापा १ मा कांग्रेसले कम्युनिस्टबाट आफ्नो क्षेत्र खोसेको छ। झापा क्षेत्र नं १ मा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि फराकिलो मतान्तरले विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अघि नै तीनपटकमा त जसरी पनि जित्ने बताएका थिए। उनले भनेका थिए, 'यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु।'

चुनाव जित्ने दाबी गरेका शर्माले 'तीन पटकमा राँगा त छिन्छ' भन्दै आफू जित्ने दाबी गरेका थिए। २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए। त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए।

कहाँ कहाँ गुमायो?

कांग्रेसले काठमाडौं ६ गुमाएको छ। पूर्व रक्षामन्त्रीसमेत रहेका भीमसेनदास प्रधान यस क्षेत्रबाट पराजित भएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुँदा प्रधानले तेस्रो स्थानमा चित्त बुझाएका छन्।

यता गठबन्धनबाट उम्मेदवार रहे पनि ताप्लेजुङमा कांग्रेसले आफ्नो जित गर्न सकेन। यहाँ एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। योगेशले २१ हजार ९४३ मत पाउँदा कांग्रेसका खेलप्रसादले २१ हजार ७५३ मतमात्र पाए।

बाँके २ मा भने कांग्रेसले आफ्नो विरासत गुमाएको छ। दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको यो क्षेत्रमा कांग्रेसले सुदिपनरसिंह राणालाई उम्मेदवार बनाएको थियो। गठबन्धनमा राम्रो मत भए पनि यसपटक एमालेको साथ पाएर यो क्षेत्रमा राप्रपाका डा धवल शम्शेर राणा निर्वाचित भएका छन्। यसअघि यो क्षेत्रमा जसपाका मोहम्मद इस्तियाक राई निर्वाचित भएका थिए। यसपटक पनि निर्वाचनमा उत्रेका उनी पराजित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell