
फिफा विश्वकप अन्तर्गत गएराति खेलमा स्पेनले कोस्टारिकामाथि फराकिलो जित निकालेको छ। कतारस्थित अल थुमना स्टेडियममा सम्पन्न समूह 'ई'को खेलमा स्पेनले ७-० गोलको फराकिलो जित निकालेको हो।
खेलको ११ औं मिनेटमै ड्यानी ओल्मोको गोलमा अग्रता लिएको स्पेनका लागि २१ औं मिनेटमा मार्को एसेन्सियो दोस्रो गोल थपे। त्यस्तै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ३१ औं मिनेटमा फेरान टोरेसले गोल थप्दा पहिलो हाफमा स्पेन तीन गोलले अघि रह्यो।
दोस्रो हाफमा टोरेसले फेरि गोल गर्दै अग्रता फराकिलो बनाउँदै लगे। उनले ५४ औं मिनेटमा गोल गर्दा गाभिले ७४, कार्लोस सोलेरले ९० र अल्भारो मोराटाले इन्ज्युरी समयमा गोल थपे।
त्यसअघि भएको समूह 'ई' कै अर्को खेलमा जापानले जर्मनीलाई हराउँदै अप्रत्यासित जित निकालेको थियो।
त्यस्तै आजराति भएको अन्तिम खेलमा बेल्जियमले क्यानडामाथि संघर्षपूर्ण जित निकाल्यो। मोहम्मद बिन अलि स्टेडियममा समूह 'एफ'को खेलमा बेल्जियमलाई जित दिलाउन मिची बात्सुइले ४४ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
समूह 'एफ'मै गएराति सम्पन्न अर्को खेलमा मोरोक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका थिए।