PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

‘हार्न नजानेका नेता’ विरोध खतिवडा आफ्नै चेलासँग पराजित, यस्तो छ महेशको राजनीतिक पृष्ठभूमि



निशा गुरुङ

‘हार्न नजानेका नेता’ विरोध खतिवडा आफ्नै चेलासँग पराजित, यस्तो छ महेशको राजनीतिक पृष्ठभूमि

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार महेश बर्तौला विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै बर्तौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

बर्तौलाले ३४ हजार ९१६ मत ल्याए भने खतिवडाले ३० हजार ३९६ मत पाए। खतिवडा ४ हजार ५२० मतान्तरले पराजित भएका हुन्।

यसअघिका लगातार चार निर्वाचनमा विजयी भएका खतिवडा संसदीय निर्वाचनमा पहिलोपटक पराजित भएका हुन्। यो पटक उनी सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार थिए।

को हुन् महेश?

मकवानपुरको विकटमा पर्ने नामटार गाविस (हाल भिमफेदी गाउँपालिका ९)मा जन्मेका हुन् महेश बर्तौला। आमा सानुमाया र बुबा गोविन्द बर्तौलाका सन्तान महेश सानैदेखि नरम स्वभावका व्यक्ति हुन्। सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका महेशको पढाई गाउँकै स्कुलमा भएको थियो।

विसं २०५३ सालमा कालिका माध्यमिक विद्यालय नामटारबाट आफ्नो राजनीतीक यात्र सुरु गरेका बर्तौलाले २०५४ र २०५५ सालमा अनेरास्ववियु ईलाका कमिटी तथा निर्वाचनको कमिटीको पदाधिकारीको जिम्मेवारी बहन गरेका थिए। विसं २०५६ सालमा अनेरास्ववियु मकवानपुर जिल्ला कमीटीको सदस्य जिम्मेवारी पाएका उनी २०५८ सालमा मकवानुर जिल्ला कमीटीको सचिव हुँदै २०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटीको सदस्य भएका थिए।

विद्यार्थी राजनीतीसँगै युवा विद्यार्थी माझ लोकप्रियता कमाएका उनको नामलाई अझ लोकप्रिय बनाईदियो २०६० सालमा भएको स्ववियु निर्वाचनले। जति बेला उनी मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य बने।

त्यसपछि उनले गरेका कामसँगै विद्यार्थीमाझ अझ लोकप्रिय बन्दै गए। सोही लोकप्रियताको जगमा उनी २०६२ र २०६५ मा गरी दुई कार्यकाल मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बने।

२०६५ सालमा विद्यार्थी युनियन काउन्सिलको केन्द्रीय संयोजकमा निर्वाचित भई एक कार्यकाल काम गर्ने अवसर पाए। सो लगतै २०६५ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका उनी दुई कार्यकाल केन्द्रीय सचिवालय सदस्य हुदै सचिव उपाध्यक्ष कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन्।

हाल बर्तौला एमालेको वाग्मती प्रदेश कमिटी उपसचिव हुन्। तत्कालीन समयमा राजतन्त्र विरोधी आन्दोलनमा लाग्दा धेरै पटक गिरफ्तार भएका उनले धेरै जनपक्षिय आन्दोलको नेतृत्व गरेका छन्। बर्तौलाले पहिलो पटक संसदीय अभ्यासमा आउने मौका पाएका हुन्।

एमालेमा रहँदा गुरूचेलाको रूपमा रहेका विरोध खतिवडा र महेश बर्तौला एमाले फुटेपछि फरक पार्टीका भए र अहिले एकअर्का विरुद्ध चुनावी मैदानमा थिए। एमालेमा रहँदा लगातार ४ पटक चुनाव जितेर ‘हार्न नजानेका नेता’को पहिचान बनाएका खतिवडालाई अन्ततः उनको चेलाले चुनावी मैदानमा पछारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell