
वीरगंज : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजकुमार गुप्ता विजयी भएका छन्। मतगणना सुरु भएदेखि नै नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र गुप्ताबिच निक्कै प्रतिस्पर्धा देखिएको पर्सा ३ मा अन्ततः गुप्ता विजयी भएका हुन्।
एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत गुप्ता सत्ता गठबनधनका उम्मेदवार चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन्। गुप्ता २४ हजार २ सय ६० मतका साथ विजयी हुँदा चौधरीले २४ हजार १ सय ९ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राजकुमार यादवले १० हजार ४८१ मत पाएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुप्ता २०७० को निर्वाचनमा यहि क्षेत्रबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा भने १० हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा सीमित भएका थिए। त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट हरिनारायण रौनियार १५ हजार १ सय ६१ मतका साथ विजयी भएका थिए। दोस्रो स्थानमा रहेका कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत पाएका थिए।