PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

२३ वर्षपछि म्याग्दीमा बल्ल कांग्रेसको जित



पहिलोपोस्ट

२३ वर्षपछि म्याग्दीमा बल्ल कांग्रेसको जित

काठमाडौं : नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ। निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ।

२०५६ सालपछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापति समेत रहेका खमबहादुर गर्वुजा (खमवीर)ले तेस्रो प्रयासमा प्रतिनिधि सभा निर्वाचनमा विजय प्राप्त गरेका हुन्। २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल स्व.नारायणसिं पुन विजयी भएका थिए। त्यस यता म्याग्दी कांग्रेसले विजय प्राप्त गर्न सकेको थिएन।

गर्वुजा यस अघि ०७० सालको आम निर्वाचनमा नेकपा एमालेका नवराज शर्मासँग र ०७४ सालको आम निर्वाचनमा नेकपा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए। त्यसैगरी ०६४ सालमा समानुपातिक तर्फ नाम सिफारिस भएपनि निर्वाचित हुन सकेका थिएनन्।

तर आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका हुन्। गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १सय ८९  मत प्राप्त गरे। प्रतिद्धन्द्धी नेकपा एमालेका श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा  ५० हजार ६२५ मत खसेको थियो।

निर्वाचित भएसँगै गर्बुजाले यो आफ्नो मात्रै जीत नभएर समग्र म्याग्दीवासीको जीत भएको प्रतिक्रिया दिए। उनले भने, ‘म जनताको शासक होइन सेवक भएर काम गर्ने छु, मेरो बुद्धि, वर्गत र सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु, कतै म अल्मलिएँ वा लर्वरिएँ भने मलाई सचेत बनाउनुहोला।’

गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तर रुपमा कांग्रेसको दरिलो बनेर अघि बढेको कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले बताए ।

२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिएका गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा पराजित भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गरेका भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय रहेको म्याग्दी कांग्रेसका सहसचिव ध्रुवराज कार्कीले बताए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell