PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

विश्वकपमा कुन - कुन टिम भिड्दैछन् आज?



पहिलोपोस्ट

विश्वकपमा कुन - कुन टिम भिड्दैछन् आज?
Photo: Chung Sung-Jun/Getty Images

फिफा विश्वकपमा आज चार खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा स्वीजरल्याण्ड र क्यामरुन भिड्नेछन्। समूह 'जी' को यो खेल दिउँसो पौने चार बजे अल जनोउब स्टेडियममा दिउँसो पौने ४ बजे आमनेसामने हुँदैछन्।

स्वीजरल्याण्डका प्रशिक्षक मुरत यकिनले आफ्नो टोलीलाई 'अस्थित्वमा रहेदेखि अहिले सम्मकै उत्कृष्ट' टोली भएको दाबी गरेका छन्।

स्वीस टोलीले विश्वकपमा विगतका चारमध्ये तीनमा अन्तिम १६ चरणमा पुगेको छ तर सन् १९५४ यता क्वार्टरफाइनलमा पुग्न सकेको छैन।

'हामीले धेरै सुधार गरेका छौं र अब हामी इतिहास लेख्न चाहन्छौं,' याकिनले भने,'हामी यहाँ भाग लिनमात्र आएका होइनौं। हामी यहाँ जित्नका लागि छौं र हामी अर्को चरणमा पुग्न चाहन्छौं।'

क्यामरुन टोली विश्व वरीयतामा ४३ औं स्थानमा छ, अर्थात स्विस टोलीभन्दा २८ स्थान तल। तर, क्यामरुनका प्रशिक्षक रिगोबर्ट सङ विश्वास छ: उनको टोली अल जानोब स्टेडियममा स्वीजरल्याण्डलाई निरास बनाउन सक्षम छ।

'हामीले यस विश्वकपमा सप्राइजहरु देखिसकेका छौं,' उनले भने।

आज हुने दोस्रो खेलमा एसियाली शक्ति राष्ट्र दक्षिण कोरियाले विश्वकपको ट्रफी उचालिसकेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको सामना गर्नेछ। समूह 'एच'को यो खेल एजुकेसन सिटी स्टेडियममा पौने ७ बजे सुरु हुनेछ।

कोरियाका कप्तान सन ह्युङ मिन अनुहारमा चोटका कारण फेस मास्क लगाएर अभ्यासमा देखिएका थिए। प्रिमियर लिगमा आफूलाई प्रमाणित गरेका सन खेलका लागि फिट भएको प्रशिक्षक पाउलो बेन्टोले बताएका छन्। 'सनले खेल्न सक्छन्, र, खेल्न सक्षम हुनेछन्,' उनले भने।

तर, विश्वकपमा उरुग्वेसँगको इतिहास कोरियाको राम्रो छैन। विश्वकपमा यसअघिका भेटहरुमा दुई पटक उरुग्वेले जित निकालिसकेको छ। अर्जेन्टिना, मेक्सिको, ब्राजिलसँगै उरुग्वे पछिल्ला ४ विश्वकपमा नकआउट चरण पुग्ने टोली हो। आजको खेलमा जित निकाले कोरिया विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराउने तेस्रो टोली बन्ने छ। यसअघि जापानले कोलम्बियालाई, साउदी अरेबियाले अर्जेन्टिनालाई विश्वकपमा हराएका छन्।

आजै राति हुने तेस्रो खेलमा पोर्चुगल र घाना भिड्दैछन्। रस अबोउ अबोउड स्टेडियममा बेलुको पौने १० बजे यी दुई टोली आमनेसामने हुनेछन्।

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच तनाबको असर टिममा पर्ने आँकलनसमेत गरिएको छ। तर, पोर्चुगिच खेलाडी ब्रुनो फर्नान्डेजले त्यसको केही असर नभएको बताएका छन्।

'हामीले यस विषयमा छलफल गरेका छैनौं - हामी सबै राष्ट्रिय टोली र विश्वकपमा केन्द्रित छौं,' उनले भने।

३७ वर्षे रोनाल्डोले एउटा अन्तर्वार्तामा युनाइटेडको कटु आलोचना गर्दै प्रशिक्षक टेन हागप्रति कुनै सम्मान नहरेको बताएका थिए। योसँगै उनी क्लबबाट बाहिरिने निश्चित भइसकेको छ।

'तपाईंले पहिलेका केही खेलहरूमा ठूला आश्चर्यका साथ के भयो देख्नुभएको छ। विरासत हामी हो, त्यो महत्वपूर्ण छ,' पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले भनेका छन्, 'खेलाडीहरूसँग आफूले चाहेको काम गर्नको लागि समय छ, तर उनीहरूलाई थाहा छ यो प्रतियोगिता जित्न ध्यान केन्द्रित गर्नुपर्छ।'

अर्कोतर्फ घाना यो वर्षको सुरुमा अफ्रिकन कप अफ नेसन्समा आफ्नो समूहको पुछारमा रह्यो। तर छनोटमा प्रतिद्वन्द्वी नाइजेरियालाई पराजित गर्दै विश्वकपका लागि छनोट हुने सफल भएको थियो। रोनाल्डोको पछिल्लो घटनाक्रममा विपक्षीलाई खासै फरक नपर्ने आँकलन छ घानाका प्रशिक्षक ओटो एडोको।

'यसमा मलाई मतलब छैन, यो हाम्रो समस्या होइन र मलाई यो ठूलो समस्या हो जस्तो लाग्दैन,' उनले भनेका छन्, 'सबैजना जित्न चाहन्छन् र हामी विश्वकप स्तरमा छौं, मलाई लाग्दैन कि यस्तो कुराले कसैलाई बाधा पुर्‍याउँछ।'

'पोर्चुगल कागजमा बलियो टोली हुन्, तर, हामीले मैदानमा देखाउनुपर्छ, कागजमा देखिएको कुरा पिचमा हुन्छ भन्ने हुँदैन।' घानाका कप्तान आन्द्रे अयूले भनेका छन्।

भरे राति नै हुने अन्तिम खेलमा ब्राजिल र सर्बिया भिड्दैछन्। ब्राजिलका कप्तान थिएगो सिल्भाले यसपाला नेइमार 'उत्कृष्ट' रहेको बताएका छन्। यसअघिका दुई विश्वकपमा नेइमारले चोटका कारण क्षमताअनुसार प्रदर्शन दिन सकेका थिएनन्।

सिल्भाले भने, ‘मलाई लाग्छ नेयमार उत्कृष्ट लयमा यस प्रतियोगितामा आउँदैछन्।'

सर्बियासँगको इतिहास हेर्दा ब्राजिल बलियो देखिन्छ। १७ खेलमा सर्वियाले ब्राजिललाई हराउन सकेको छैन।

समूह 'जी' अन्तर्गत यी दुई टोलीबीचको खेल लुसइल स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell