काठमाडौं : नेकपा (माओवादी केन्द्र) को महासचिव को हुन्छ? पार्टीभित्र बहस मात्रै भएन असन्तुष्ट नेताले मुखै खोलेका थिए- महासचिवको आकांक्षाबारे। माओवादी केन्द्रका नेता वर्षमान पुन चीनबाट उपचार गरेर फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा २०७८ माघ १० गते भनेका थिए, ‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको साँचो हो।' पुनलाई महासचिवका लागि पार्टीभित्र बलियो चुनौती दिने नेता थिए, जनार्दन शर्मा।
शर्मा र पुनको आकांक्षाले माओवादीभित्रको टकरावलाई सतहमा त ल्यायो नै एक अर्कालाई रोक्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बारम्बार अनुरोध गर्दा अरु नेताले पनि लविङ बढाएका थिए प्रचण्डसँग। तर प्रचण्डले दुई बलियो आकांक्षी वर्षमान पुन र जनार्दन शर्मालाई छाडेर देव गुरुङलाई महासचिव बनाए।
त्यसो त माओवादीकी नेता पम्फा भुसालले पनि महासचिवमा बलियो दाबी गरेकी थिइन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाट प्रतिनिधि सभामा पराजित भुसाल त्यसबखत माओवादी केन्द्रको उपमहासिवमा मात्रै सिमित रहिन्। महासचिव बन्न देव गुरुङका लागि जति परिस्थिति अनुकूल बन्यो प्रतिनिधिसभाको चुनाव जित्न त्यति नै प्रतिकुल। यसपटक आफ्नै किल्ला लमजुङमा पराजित भए देव गुरुङ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका महासचिव गुरुङलाई पराजित गरेका हुन्।
लमजुङ-१ मा एमालेका पृथ्वी सुब्बाले ३४ हजार ९६९ मत ल्याएर माओवादी महासचिव गुरुङलाई पराजित गरे। महासचिव गुरुङको पक्षमा ३१ हजार ७८१ मत मात्रै रह्यो। २०७४ सालको निर्वाचनमा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा यसपटक माओवादी महासचिव गुरुङसँग चुनावी प्रतिस्पर्धा गर्न आनाकानी गरिरहेका थिए। तर अन्तत: उनैले चुनाव जितेर माओवादीको किल्लामा एमालेको जित दर्ता गराएका छन्।
महासचिव गुरुङले २०६४ को पहिलो संविधानसभा चुनावमा जित निकालेका थिए लमजुङबाटै। २०७४ सालमा वाम गठबन्धन बनेपछि उनलाई जितका लागि झन सहज बन्यो। उनी माओवादी केन्द्रको महासचिव त बने नै त्यसअघि नै उनले माओवादी संसदीय दलको प्रमुख सचेतकको भूमिका निभाइरहेका थिए। उनको राजनीतिक यात्रा भने उतारचढावमा अघि बढेको देखिन्छ। पहिलो संविधानसभाको विघटनपछि तत्कालीन माओवादीका नेता मोहन वैद्यको कित्तामा उभिन पुगेका गुरुङ संविधान जारी भएपछि प्रचण्डको कित्तामा उभिए। दोस्रो संविधानसभालाई गुरुङ रहेको वैद्य समूहले बहिष्कार गरेको थियो। कुनैबेला प्रचण्डकै आलोचना गरेर वैद्यको कित्तामा उभिएका गुरुङ फेरि पुरानै पार्टीमा फर्किएपछि प्रचण्डकै विश्वासिलो पात्र बने। उनै गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ महंगो साबित भए यसपटकको निर्वाचनमा।
सत्ता गठबन्धन निर्माणमा माओवादी केन्द्रका तर्फबाट महत्वपूर्ण भूमिका निभाएका थिए गुरुङले। उनी टिकट बाँडफाँड समितिको सदस्य समेत थिए। पाँच दलीय गठबन्धनको साथले चुनावमा उम्मेदवार बने पनि गुरुङले चुनावमा जित निकाल्न भने सकेनन्। संसदीय राजनीतिका लागि परिपक्व पात्र मानिएका देव गुरुङको राजनीतिक यात्रा २०३६ बाटै सुरु भइसकेको थियो। २०३८ मा मशालको केन्द्रीय सदस्य भएका गुरुङ २०५२ को माओवादी जनयुद्धसँगै नेकपा माओवादीबाट राजनीतिमा सक्रिय रहे। माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न व्याख्यात्मक टिप्पणी गरेर अघि बढ्दा पनि पार्टी लाइनलाई चुनौती दिने नेता मध्यमा पर्छन् उनी।
संयोग नै होला माओवादी महासचिव गुरुङ मात्रै होइन अर्को ठुलो कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल पनि पराजित भएका छन् प्रतिनिधि सभाको निर्वाचनमा। अर्को संयोग के पनि भने दुवै पार्टीका महासचिवलाई अरु दलका उम्मेदवारले नभइ एक अर्का पार्टीका नेताले हराए। पार्टी एकीकरणका बेला सहयात्री रहेका माओवादी र एमालेका नेता यसपटक एक अर्कालाई हराउनका लागि लागिपरेका थिए। जसको एउटो बलियो उदाहरण हुन् गुरुङ र पोखरेल। पोखरेलले नेकपा विवादकै बेलादेखि ओलीको चर्को बचाउ गरेका थिए भने गुरुङले प्रचण्डको।
पृथ्वी सुब्वाले देव गुरुङलाई हराउँदा एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी नेता रेखा शर्माले पराजित गरिन्। दाङ-२ मा माओवादी केन्द्रकी शर्माले २६ हजार ८७७ मत ल्याएर एमालेका महासचिव पोखरेललाई पराजित गरिन्। पोखरेलले २६ हजार ६८१ मत ल्याए।
जित/हार र महासचिव पद मात्रै होइन माओवादी महासचिव गुरुङ र एमाले महासचिव पोखरेलबिचको अर्को समानता हो- पार्टी अध्यक्षको विश्वास पात्र हुनु।
जसरी प्रचण्डको विश्वास जितेर गुरुङ महासचिव बन्न सफल भएका थिए त्यसरी नै पोखरेल पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। उनले पनि एमालेका अरु नेतालाई पछि पारेर महासचिव पद पक्का गरेका थिए दशौं महाधिशेनबाट। यसअघि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने। तर नेकपाभित्रको कलह र एमाले विभाजनले उनको पद धरापमा पर्यो। मुख्यमन्त्री जोगाउन संसदीय अंकगणितका लागि अन्तिमसम्म कोसिस गरेका पोखरेललाई सत्ता गठबन्धन बाधक बनेको थियो, मुख्यमन्त्री ५ वर्ष चलाउन।
एमालेभित्र अरु नेता ओलीको आलोचनामा उत्रिँदा बलियो बचाउ गर्ने नेता हुन् पोखरेल। ओलीले दुईपटक प्रतिनिधसभा विघटन गर्दा पोखरेलले ओलीलाई बलियो साथ दिएका थिए। उक्त साथकै कारण होला ओलीले महासचिवमा एमालेका अरु ‘सिनियर’ नेतालाई पछि पारेर पोखरेललाई महासचिव बनाए। ओलीसँगको बलियो सम्बन्धकै कारण मुख्यमन्त्री र पार्टी महासचिव बन्न सफल भएका पोखरेललाई माओवादी केन्द्रकी शर्माले प्रतिनिधिसभामा जाने यात्रामा भने ‘ब्रेक’ लगाइदिइन्।
मिल्दा दुईतिहाइ बहुमतको नजिक पुगेका माओवादी र एमालेका लागि महासचिव नै एक अर्का पार्टीका उम्मेदवारबाट पराजित हुनुले राम्रै सन्देश दिएको हुनुपर्छ। किनभने यसपटकको निर्वाचनमा एमाले र माओवादी नै शहरी क्षेत्रको जनमतबाट बढारिएका छन्। काठमाडौं-९ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जित्न बाहेक एमालेले काठमाडौंमा चुनाव जित्न सकेन भने माओवादी केन्द्र उपत्यकामै 'निल' भएको छ। २०७४ मा एमालेले काठमाडौंमा मात्रै ६ सिट जितेको थियो। एकअर्का विरुद्ध उत्रिएपछि शहरी क्षेत्रमा दुबै पार्टीले नराम्रोसँग पराजित हुनुपरिरहेको छ।
जसको एउटै कारण तत्कालीन नेकपाभित्रको कलह नै हो, जसको भरपुर फाइदा भने सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र चुनावअघि मात्रै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएका छन्।
कांग्रेसले एमालेसँग काठमाडौं लगायतका शहरमा बदला लिएको छ भने माओवादी केन्द्र प्रत्यक्ष तर्फको निर्वाचनमा मात्रै होइन समानुपातिकमा समेत पछि परिरहेको छ देशभरको अहिलेसम्मको नतिजामा। गुरुङ र पोखरेललाई चुनावी झड्काले सिकाएको अर्को पाठ के पनि हो भने जति सजिलो पार्टी अध्यक्षलाई रिझाउनु हो त्यो भन्दा कयौं गुणा कठिन मतदाता रिझाउनु। ओली प्रचण्डको टिको लगाएर महासचिव भएको भन्दै पार्टीकै नेताहरुले आलोचना भइरहेका बेला चुनाव हारेपछि उनीहरुका लागि पार्टी भित्रको शक्ति समीकरणले केहि धक्का भने पक्कै दिनेछ।