विराटनगर : मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये २-२ वटामा क्रमशः नेपाली कांग्रेस र नेकपा एमाले तथा १-१ वटामा नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले आ-आफ्नो अग्रता स्थिर राखेका छन्।
क्षेत्र नम्बर ३ र ६ मा कांग्रेस, १ र २ मा एमाले तथा ४ मा माओवादी केन्द्र र ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका प्रत्याशीले अग्रता कायम राखेका हुन्।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर ३ का कांग्रेसका डा. सुनिलकुमार शर्माले ठुलो मत सङ्ख्याका साथ एमालेका भानुभक्त ढकाललाई पछि पारेका छन्। डा. शर्माले २९ हजार ५०३ ल्याउँदा ढकालले १५ हजार २८३ मत हासिल गरेका छन्।
यस क्षेत्रको प्रदेश 'क' तर्फ कांग्रेसका मानबहादुर लिम्बू १८ हजार २८६ मतप्राप्त गरेर अग्र स्थानमा छन् भने एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मतले पछ्याइरहेका छन्। क्षेत्र नम्बर ३ कै प्रदेश 'ख' तर्फ एमालेका ज्ञानेन्द्र सुवेदी ८ हजार ३०० मतका साथ अगाडि छन्। उनका निकटमा नेकपाएकीकृत समाजवादीकालक्ष्मीकुमार श्रेष्ठ ६ हजार ८३० मतमा छन्।
त्यस्तै क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइराला २१ हजार ८४८ मतसहित अगाडि छन्। दोस्रोमा एमालेका लालबाबु पण्डितको १५ हजार ७०५ मत छ। यस क्षेत्रको प्रदेशसभाको 'क' तर्फ माओवादी केन्द्रका जीवन आचार्यले जितिसकेका छन्। प्रदेश सभाको 'ख' तर्फको मतगणना सुरु भएको छ।
क्षेत्र नम्बर १ का एमालेका घनश्याम खतिवडाको ११ हजार ४६४ र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले १० हजार ६२६ मतप्राप्त गरेका छन्।
क्षेत्र नम्बर १ को प्रदेश 'क' तर्फ पनि एमालेकै उम्मेदवार अगाडि छन्। एमालेका उमाकान्त गौतमको १३ हजार ५३१ र माओवादी केन्द्रका कुलबहादुर साम्बाले १० हजार ४ मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलले १९ हजार २७९ र नेपाली कांग्रेसकी सुजाता कोइरालाले १८ हजार ७६२ मत हासिल गरेका छन्।
यस क्षेत्रको प्रदेश सभाको 'क' तर्फ माओवादी केन्द्रका गणेश उप्रेती सुशील ७ हजार ८७१ मतसहित अघि लागेका छन्। उनका छेउमा एमालेका दानबहादुर कार्कीले ७ हजार ६०३ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभाको 'ख' तर्फ एमालेका लीलावल्लभ अधिकारीले ११ हजार ८९६ र नेपाली कांग्रेसका विनोद कार्कीले १० हजार ४४७ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी २६ हजार ७७२ मतसहित विजयोन्मुख छन् भने एमालेका विनोदप्रसाद ढकालको १७ हजार ४९१ मत छ।
यस क्षेत्रको प्रदेशसभाको 'क' तर्फ एमालेका जयप्रकाश चौधरी विजयी भइसकेका छन्। प्रदेश सभाको 'ख' मा जारी मतगणनामा कांग्रेसका भीम पराजुलीको ४ हजार ८२८ र एमालेका जीवन घिमिरेको ३ हजार ९२० मत छ।
क्षेत्र नम्बर ५ मा एमालेबाट बागी भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डल (जोगीसर) १९ हजार १६ मतका साथ अघि लागेका छन्। दोस्रोमा जनता समाजवादी पार्टीका राजकुमार यादवको १५ हजार ३४२ मत छ।
यस क्षेत्रको प्रदेश सभाको क र ख दुबैमा कांग्रेसका गयानन्द मण्डल र अमृत अर्याल विजयी भइसकेका छन्।