1.jpg)
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापा राप्रपाका दीपक सिंहसँग पराजित भएपछि ओलीलाई धन्यवाद दिएका हुन्।
आफूलाई विश्वास गरी टिकट दिएकोमा ओली र एमालेलाई धन्यवाद दिँदै थापाले विश्वास जोगाउन नसकेकोमा दुख लागेको प्रतिक्रिया दिए।
‘मलाई बिश्वास गर्नुभएकोमा केपी शर्मा ओलीज्यूलाई धन्यवाद। तर, तपाईंको बिश्वास जोगाउन नसकेकोमा दु:खी छु। तपाईंलाई मेरो शुभकामना पराजयलाई सहर्ष स्विकार गर्दछु,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
हारे पनि आफू देश र जनताको हितमा निरन्तर सक्रिय रहनेसमेत थापाले बताएका छन्। ‘देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु,’ उनले भनेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।‘
पछिल्लो समय धर्मसंस्कृति रक्षाको आवाज कमजोर हुँदै गएकोमा भने खिन्नता लागेको थापाले बताएका छन्। ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ,’ उनले भनेका छन्।