PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेशसभा 'क' मा नागरिक उन्मुक्तिका चौधरी विजयी



पहिलोपोस्ट

कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेशसभा 'क' मा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौं : कैलाली क्षेत्र नं १ प्रदेशसभा (क) तर्फ नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा (क) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका हुन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार २७८ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टीलाई नेकपा (एमाले)को समर्थन रहेको थियो। यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो।

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन्।  प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ। उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएकी छिन्।

 सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्। उनीहरुबिचको मतान्तर १० हजार ४३७ रहेको छ।

यस क्षेत्रमा कूल एक लाख सात हजार ६७२ मतमध्ये ६४ हजार ३३२ मत खसेको थियो। त्यसमध्ये हालसम्म ५५ हजार ७२३ मत गणना भइसकेको छ। सहायक निर्वाचन अधिकृत ओडका अनुसार ८ हजार ६०९ मत गणना हुन बाँकी छ। अहिलेसम्म दुई हजार ९१० मत बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell