PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अहिलेसम्म गण्डकी प्रदेशसभामा कांग्रेसले जित्यो १५ सिट, दुईवटा क्षेत्रमा एमालेको 'लिड'



पहिलोपोस्ट

अहिलेसम्म गण्डकी प्रदेशसभामा कांग्रेसले जित्यो १५ सिट, दुईवटा क्षेत्रमा एमालेको 'लिड'

पोखरा : गण्डकी प्रदेशसभातर्फ नेपाली कांग्रेसले हालसम्म १५ सिट जितेको छ। यता, नेकपा एमालेले १० सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले ५ वटा क्षेत्रमा जित निकालेको छ।

स्याङ्जाको क्षेत्र नं २ मा अझै मतगणन भएको छैन। कास्कीको क्षेत्र नं १ (क) र ३(ख)को नतिजा आउन बाँकी छ। दुबै क्षेत्रमा एमालेको अग्रता छ भने स्याङ्जा १(ख)मा कांग्रेसको अग्रता छ। बाँकी क्षेत्रमा मतपरिणाम आइसकेको छ।

गोरखा क्षेत्र नं १ (क)मा नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्ण प्रसाद धिताल विजयी भएका छन्। १५ हजार ४५७ मत ल्याउँदै उनले एमालेका सुरेन्द्र बहादुर थापालाई हराएका हुन्। १(ख)मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने १६ हजार २६५ मत ल्याउँदै विजयी भएका छन्। त्यस्तै क्षेत्र नं २ (क)मा माओवादीका फडिन्द्र देवकोटा १२ हजार ४११ मत ल्याउँदै निर्वाचित हुँदा २(ख)मा कांग्रेसका सुरेन्द्र राज पाण्डे निर्वाचित भएका छन्।

प्रदेशतर्फ लमजुङमा कांग्रेसले दुबै सिटमा जीत हासिल गरेको छ। क्षेत्र नं १ (क)बाट कांग्रेसका टकराज गुरुङ र १(ख)मा भेषबहादुर पौडेल निर्वाचित भएका छन्। तनहुँमा कांग्रेसले प्रदेशतर्फ दुई सिटमा जीत निकाल्दा माओवादी र एमालेले यहाँबाट निर्वाचित भएको छ। तनहुँ क्षेत्र नं १ (क)मा कांग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित हुँदा १(ख)मा माओवादीका हरिबहादुर चुमान निर्वाचित भएका छन्। क्षेत्र नं २ (क)मा एमालेका श्यामराज महत निर्वाचित हुँदा २(ख)मा कांग्रेसका जीत प्रकाश आले मगर निर्वाचित भएका छन्। स्याङ्जा क्षेत्र नं १ (क)मा एमालेकी सीता कुमारी निर्वाचित भएकी छन् भने १(ख)मा कांग्रेसका वृद्रि बहादुर रानाले 'लिड' गरिरहेका छन्। विवादका कारण क्षेत्र नं २ मा अझै मतगणना सुरु भएको छैन।

कास्कीमा प्रदेश तर्फ एमालेले तीन सिटमा जीत निकालिसकेको छ। कास्की क्षेत्र नं १(ख)मा एमालेका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् भने १ (क) मा एमालेका खगराज अधिकारीले अग्रता लिइरहेका छन्। क्षेत्र नं २ (क)मा एमालेका भीम बहादुर कार्की निर्वाचित हुँदा २(ख)मा कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन्। यता क्षेत्र नं ३ (क)मा एमालेका गनेशबहादुर गुरुङ निर्वाचित भएका छन् भने ३(ख)मा एमालेका राजीव पहारीले अग्रता लिइरहेका छन्।

मनाङ १ (क)मा कांग्रेसका मुनिन्द्र गुरुङ निर्वाचित हुँदा १(ख) मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निविरोध निर्वाचित भएका छन्। मुस्ताङमा कांग्रेसको क्लिन स्वीप छ।

यता, पर्वतमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा क्लिन स्वीप गरेको छ। क्षेत्र नं १(क)मा एमालेका भक्त बहादुर कुवँर निर्वाचित हुँदा १(ख)मा मित्रलाल बस्याल निर्वाचित भएका छन्। म्याग्दीमा भने माओवादीले क्लिन स्वीप गरेको छ। म्याग्दी क्षेत्र नं १ (क) मा माओवादीबाट हरिबहादुर भण्डारी र १(ख)मा रेशम जंगली निर्वाचित भएका छन्।

बागलुङमा भने कांग्रेसका क्लिन स्वीप गरेको छ। क्षेत्र नं १ (क)मा कांग्रेसका दिपेन्द्र थापा, १(ख)मा डिल्लीराम पौडेल, २(क)मा जीत बहादुरर शेरचन र २(ख)मा डोर्ना कुवंर निर्वाचित भएका छन्। नवलपुरको तीनवटा प्रदेश निर्वाचन क्षेत्रमा एमालेले 'लिड' गरिरहँदा एउटा कांग्रेसले अग्रता लिएको छ। क्षेत्र नं १ (क)मा कांग्रेसका महेन्द्र धवज निर्वाचित भएका छन्। क्षेत्र नं १(ख)मा एमालेका रोशन गाहा थापा, क्षेत्र नं २ (क)मा एमालेकी पदमा जिसी र २(ख)मा लक्ष्मण पाण्डे निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell