PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दक्षिण कोरियाले उरुग्वेलाई हराए कतारमा 'एसियन ह्याट्रिक'!



पहिलोपोस्ट

दक्षिण कोरियाले उरुग्वेलाई हराए कतारमा 'एसियन ह्याट्रिक'!
Kim Hong-Ji/Reuters

विश्व खेलकुदमै ठूलो प्रतियोगिताका रुपमा फिफा विश्वकप मानिन्छ। तर, विश्वको ठूलो महादेश एसियाको विश्वकपमा उपस्थिति भने सँधै 'अण्डर डग' का रुपमा रहँदै आएको छ। ३२ टोली सहभागी हुने प्रतियोगितामा उपाधि भने सधैँजसो युरोप या ल्याटिन अमेरिकाको भागमा पर्दै आएको छ। एसियाको विश्वकपमा सबैभन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा भनेको सेमिफाइनलसम्म मात्र छ।

सन् २००२ मा आयोजक दक्षिण कोरियाले सेमिफाइलसम्मको यात्रा तय गर्न सफल भएको थियो। त्यस्तै एसिया र युरोप दुवैतर्फ पर्ने टर्कीएले पनि सेमिफाइनल खेले पनि टर्कीए युरोपेली टिममै गनिन्छ। अर्कोतर्फ अफ्रिकी टोलीले त क्वाटरफाइनल नै पार गर्न सकेका छैनन्। अफ्रिका सबैभन्दा अघि पुग्दा क्वाटरफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ।

कतारमा जारी विश्वकपमा डेब्यू गरेको कतार उद्घाटन खेलमा २-० ले पराजित भए पनि साउदी अरेबिया र जापानले दमदार सुरुवात दिन सफल भए। त्यसबाहेक एसियाबाट प्रतिनिधित्व गर्ने इरान र अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन। साउदी र जापानले विश्वकपको प्रवल दाबेदार मानिएका 'हेबिवेट' टोलीलाई हराउन सफल भए। मंगलवार भएको खेलमा साउदी अरेबियाले एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनासँग २-१ गोलको जित निकाल्यो। त्यसको २४ घण्टा नबित्दै जापानले अर्को विश्वकपको उपाधि दाबेदार जर्मनीलाई २-१ गोलअन्तरले पछी पार्न सफल भयो।

यो उत्साहजनक जितका बावजुत अर्को चरणमा पुग्ने कुरै दुवै टोलीका लागि अझै सहज छैन। कतार विश्वकप यसको प्रारम्भिक चरणमा छ, र धेरै 'ट्विस्ट एन्ड टर्न' आउन बाँकी नै छन्।

एसियाली राष्ट्रमा विश्वकप आयोजना हुन लागेको यो दोस्रो पटक हो। पछिल्लो पटक सन् २००२ मा एसियाको दक्षिण कोरियामा विश्वकप भएको थियो। जसमा घरेलु टोली शीर्ष चारमा परेको थियो।

बिहीवार अर्को एसियाली फुटबलको शक्ति राष्ट्र दक्षिण कोरियाले ल्याटिन अमेरिकी राष्ट्र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। समूह 'एच'को यो खेल एजुकेसन सिटी स्टेडियममा पौने ७ बजे सुरु हुनेछ।

कोरियाका कप्तान सन ह्युङ मिन अनुहारमा चोटका कारण फेस मास्क लगाएर अभ्यासमा देखिएका थिए। प्रिमियर लिगमा आफूलाई प्रमाणित गरेका सन खेलका लागि फिट भएको प्रशिक्षक पाउलो बेन्टोले बताएका छन्। 'सनले खेल्न सक्छन्, र, खेल्न सक्षम हुनेछन्,' उनले भने।

तर, विश्वकपमा उरुग्वेसँगको इतिहास कोरियाको राम्रो छैन। विश्वकपमा यसअघिका भेटहरुमा दुई पटक उरुग्वेले जित निकालिसकेको छ। अर्जेन्टिना, मेक्सिको, ब्राजिलसँगै उरुग्वे पछिल्ला ४ विश्वकपमा नकआउट चरण पुग्ने टोली हो। आजको खेलमा जित निकाले कोरिया विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराउने तेस्रो टोली बन्ने छ। यसअघि जापानले कोलम्बियालाई, साउदी अरेबियाले अर्जेन्टिनालाई विश्वकपमा हराएका छन्।

१४ औं स्थानमा रहेको उरुग्वेलाई २८ औं स्थानमा रहेको कोरियाले हराउन सके के होला? पहिलोपटक तीन एसियाली मुलुकहरुले विश्वकपको तीनवटा ओपनिङ म्याच जितेको इतिहास बन्नेछ।

दक्षिण कोरियाली खेलाडीहरूले मंगलबार साउदी अरेबियाको जितबाट प्रेरित भएको बताएका छन्। र, जापानी खेलाडीहरूले उनीहरुको जित पछि यही कुरा भने।

एउटै विश्वकप प्रतियोगितामा दुई एसियाली टोलीले आफ्नो पहिलो खेल जितेको दुई पटक भएका छन्। पहिलो सन् २०१० मा दक्षिण अफ्रिकामा, दक्षिण कोरियाले ग्रीसलाई २-० र जापानले क्यामरुनलाई १-० ले हराएर आफ्नो यात्रा सुरु गरेको थियो।

दोस्रो त्यसको आठ वर्षपछि रसियामा जापानले कोलम्बियालाई २–१ ले हराएको थियो भने इरानले मोरक्कोलाई १–० ले हराएको थियो। यसपाला यो महादेशका देशले विश्वस्तरीय टोलीको रूपमा उभिन एसियामै भइरहेको विश्वकपको प्लाटफर्म प्रयोग गर्ने राम्रो समय देखिन्छ।

सन् २००२ यता एसियाली टोलीको १८ वटा सहभागितामध्ये ४ पटकमात्र समूह चरण पार गर्न सफल भएको छ।

फेरि अन्तिम चार पुग्ने कुरा एकछिन बिर्सँदा विगत दुई दशकमा क्वार्टरफाइनल समेत एसियाली मुलुक पुग्न सकेको छैन। हालैका वर्षहरूमा फुटबलमा ठूलो फड्को मार्ने महादेशका लागि यो निराशाजनक कीर्तिमान हो। एसियाली खेलाडीहरू युरोपमासमेत अस्तित्व बनाइरहँदा एसियाली टोलीमाथि प्रदर्शन सुधार्ने दवाब पनि बढेर जाने छ।

कतार विश्वकपमा एसियाका पाँच प्रतिनिधि राष्ट्र (अष्ट्रेलिया सहित ६) मध्ये दक्षिण कोरिया आफ्नो समूहबाट छनोट हुने सबैभन्दा राम्रो अवसर देखिन्छ। यो समूहमा कोरियाले उरुग्वेसहित पोर्चुगल र घानासँग खेल्नेछ।

अघिल्लो विश्वकपमा त्यतिबेलाको डिफेन्डिङ च्याम्पियन जर्मनीलाई २-० गोलले स्तब्ध बनाउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको कोरियालाई यसपाला समूह चरण पार गर्न 'मोटिभेसन' पनि एसियाली अन्य राष्ट्रको प्रदर्शनले पक्कै दिनेछ।

यसपाला समूह चरण पार गर्ने या नगर्ने भन्ने संकेत कोरियाको आज साँझको खेलले दिनेछ। र, आज दक्षिण कोरियाले जिते बन्नेछ ओपनिङ खेलमा एसियाली मुलुकको ह्याट्रिक!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell