
कैलाली : कैलाली १ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राम जनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले पराजित गरी रञ्जिताले रेशमको विरासत जोगाउन सफल भएकी हुन्।
६४ हजार ९ सय ९९ मत खसेको उक्त क्षेत्रमा ३ हजार २ सय ६८ मत बद हुँदा ६० हजार ८ सय ८८ मत सदर भए। त्यसमा श्रेष्ठले ३० हजार ४ सय ४ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ र एमालेका तपेन्द्र रावलले ५ हजार ९ सय १० मत ल्याए।
काठमाडौँ रैथाने नेवार परिवारमा २०३९ सालमा जन्मिएकी रञ्जिता रेडियो नेपालमा कार्यरत रेशम चौधरीसँग प्रेम विवाह गरी पत्रकारिता र सञ्चार क्षेत्रमा लागिन्। रेडियो नेपाल, रेडियो सगरमाथा, रेडियो सिटी र इमेज च्यानलमा समेत काम गरिसकेपछि उनी कैलाली आइपुगेकी हुन्। त्यहाँ रेशम चौधरीले सञ्चालनमा ल्याएको रेडियो फूलबारीमा आबद्ध भइन्। त्यस क्रममा २०७२ साल भदौ ७ गते थरुहट थारुवान् आन्दोलनमा हिंसात्मक घटना भयो र ८ गते उक्त रेडियोमा आगो लगाइयो।
२०७२ साल भदौ सात गते ८ सुरक्षाकर्मी र १ नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टिकापुर घटनामा रेशम चौधरीविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार भए। मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चौधरीले भूमिगत शैलीमै २०७४ मा अप्रत्याशित मतको जित निकालेका थिए। रेशमले ०७४ मा ३४ हजार मत ल्याएर विजयी भएका थिए।