PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निःशुल्क ट्युसनबाट उदाएको ‘जोगी सर’को सामाजिक अभियानः एमालेले टिकट नदिएपछि विद्रोह, स्वतन्त्र भएर प्रतिनिधि सभामा ‘इन्ट्री’



अनन्तराज न्यौपाने

निःशुल्क ट्युसनबाट उदाएको ‘जोगी सर’को सामाजिक अभियानः एमालेले टिकट नदिएपछि विद्रोह, स्वतन्त्र भएर प्रतिनिधि सभामा ‘इन्ट्री’

विराटनगरः मोरङ ५ मा नेकपा (एमाले) सँग विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डल (जोगीसर) निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मण्डल निर्वाचित भएका हुन्।निर्वाचन कार्यालयका अनुसार योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शिवकुमारले १७ हजार ४८६ मत पाए।

अर्का उम्मेदवार जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत पाएका छन् । यस क्षेत्रका १ लाख ४९४ मतदातामध्ये ७२ हजार ९७३ ले मतदान गरेका थिए। जसमध्ये ५ हजार ५३० मत बदर भएका छन्। 

मोरङमा उनी आफ्नो औपचारिक नाम योगेन्द्रले नभई जोगी सरका नामले सर्वत्र परिचित छन्।

बिएस्सी सकेर घर फर्किएपछि उनले गाउँ समाजका विपन्न बालबालिकालाई निःशुल्क ट्युसन पढाएर आफ्नो करिअर सुरु गरे। यसपछि उनी जोगी सरकै नामले चिनिए। अहिले त्यही नाम सबैतिर फैलिएको छ।

निःशुल्क ट्युसनबाट सुरु भएको उनको सामाजिक अभियानको यात्राले अहिले जीवन विकास समाज नामको गैरसरकारी संस्थामा आएर गतिशील छ। जीवन विकास समाजले लघुवित्त, अस्पताल, डेरी, पिउने पानी, बालविकास केन्द्र, कृषि आयोजना लगायतका प्रोजेक्ट चलाइरहेको छ। समाजले गैरनाफामूलक सीटीईभीटीको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

मोरङको तत्कालीन अमाही बरियाती गाविसमा जोगी सरले २७ वर्षअघि अर्थात् २०५२ सालमा २ बालकलाई निःशुल्क पढाएर आफ्नो अभियानको थालनी गरेका थिए।

‘अढाई दशकको यस यात्रामा हामीले ३ लाखभन्दा बढी मानिसलाई समेटिसकेका छौँ’, योगेन्द्रले पहिलोपोस्टलाई भने, ‘अहिले हामी मोरङको धनपाल थान गाउँपालिकामा १९ बिघा क्षेत्रफलभित्र विद्यालय चलाइरहेका छौँ। यसमा १ हजार ५ सय विद्यार्थी छन्। मोरङका विभिन्न ४ पालिकाका ६ स्थानमा बालविकास केन्द्र चलाइरहेका छौँ। यहाँ ५ सय विद्यार्थी लाभान्वित भइरहेका छन्।’

जोगी सरका अनुसार कटहरी गाउँपालिकामा जीवन विकास समाजले ३ सय शय्याको अस्पताल निर्माण गरिरहेको छ। अस्पताल परिसरभित्रै अस्पतालका कर्मचारी र आसपासका विद्यार्थीका लागि छुट्टै विद्यालयको स्थापना पनि गरिँदैछ।

कृषितर्फ जीवन विकासले कृषि फर्म, फलफूल खेती, नर्सरी, तरबुजा खेती लगायतका आयोजना चलाएको छ। यसबाहेक आँगनमा ओछ्याइने ब्लकको कारखाना पनि सञ्चालन गरिरहेको छ। लघुवित्तले १ हजारलाई रोजगारी दिएको छ।

समाजले २५ वर्षमा ३ लाख भन्दा बढी मानिसलाई समेटेको छ उनको भनाई छ।

जोगीका अनुसार २७ वर्षअघि सुरु गरिएको ट्युसनको विकसित रुप नै हालको १९ बिघा जमिनमा ठूलाठूला भवनमा रहेको जीवन विकास पब्लिक स्कूल हो। यहाँ १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले मासिक २ हजारमा मात्र विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा अध्यापन गराइरहेको छ। जबकि वरपरका निजी विद्यालयले प्रति विद्यार्थी मासिक ३ हजार ५ सय लिइरहेका छन्। विद्यालयमा २२ किलोमिटर टाढादेखि विद्यार्थी आउने गर्छन्।

जोगी सरले सुनाए, ‘हामीले विद्यालयलाई व्यवस्थित बनाउन १० करोड रुपैयाँको अक्षयकोषको स्थापना गरेका छौँ। हाम्रो विद्यालय गुठीमार्फत् सञ्चालित छ। हामीले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँदा त्यस्तो अभ्यासबाट उत्पादित कृषि उपजबाट आम्दानी पाइरहेका छौँ। यस्तो आम्दानी विद्यालयले पाउने गरेको छ।’

उनले प्रत्येक वर्ष कक्षा ६ का विद्यार्थीलाई ऊनको टोपी बनाउन तालिम दिइने गरेको जानकारी दिए।

यसरी टोपी बनाउन जानेका धेरैजसो विद्यार्थी आफैँले बुनेको टोपी लगाउने गर्छन्।

मण्डलले विद्यालयले बालबालिका र किशोरकिशोरीको शिक्षाका लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गरिरहेको उल्लेख गरे।

बालशिक्षामा अध्ययनरत बालबालिकाले पौष्टिक आहार पनि पाइरहेका छन्।

जीवन विकास समाजले समाजमा गुणस्तरीय शिक्षा प्रदान गरेका कारण सन् २०१८ मा ३ लाख अमेरिकी डलरको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पनि पाइसकेको छ।

यो पुरस्कार द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले ‘क्वालिटी एजुकेसन फर अल’ पुरस्कारका नामले जीवन विकासलाई प्रदान गरिएको थियो।

सन् २०१८ मा जीवन विकास समाजका अध्यक्ष मण्डललाई स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले संयुक्त रूपमा प्रदान गरेका थिए।

अध्यक्ष मण्डलले आफूले उक्त पुरस्कारको राशीमा त्यति नै रकम थपेर विद्यालयका लागि कोष बनाएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell