PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कसको बन्ला अबको सरकार, एमाले कि कांग्रेसको?



प्रकाश भण्डारी

कसको बन्ला अबको सरकार, एमाले कि कांग्रेसको?
फाइल फोटो

काठमाडौं: हालसम्मको चुनावी परिणाम अनुसार सबैभन्दा ठूलो दल बन्दैछ -नेपाली कांग्रेस। बिहीबार राति ८ बजेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ३३ सिट जितेर पहिलो दल बन्ने बाटोमा छ। समानुपातिकमा भने दोस्रो स्थानमा छ। २०७४ को प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेर पहिलो बनेको एमाले यसपटक प्रत्यक्षतर्फको निर्वाचनमा हालसम्म दोस्रो स्थानमा छ। एमालेले २१ सिटमा जित हात पारेको छ।  

नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले प्रत्यक्षमा ९/९ सिट जितेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ सिटमा जित हात पारेको छ। राप्रपाले चार सिट जित्दा अन्यको ६ सिट छ।

चुनावी परिणामको मध्यान्तरमा पुगेसँगै प्रश्न उठ्छ अब कसको नेतृत्वको सरकार बन्ला?

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले फेरि पनि सरकार बनाउने घोषणासहित चुनावमा गएको थियो। अर्कोतिर २०७४ को नतिजा अनुसार पहिलो दल बनेको एमाले यसपालको चुनावमा पनि अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकार बनाउने उद्घोषसहित चुनावमा होमियो। एमाले र कांग्रेसले मुख्यगरी सरकारको दाबी गरिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षा पनि लुकेको छैन। त्यसो त नेपाली कांग्रेसमै पनि महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंहलगायत नेताको प्रधानमन्त्रीका लागि ताती छ।

प्रधानमन्त्री बन्नका लागि अब आउने संसदमा अङ्कगणित जुन पार्टीले पुर्‍याउन सक्यो त्यसको सरकार बन्ने छ। किनभने अहिलेसम्मको मतपरिणामलाई ख्याल गर्दा कुनै पनि दलको एकल बहुमत आउने छैन।

सत्ता गठबन्धन दलले कति सिट ल्याउँछन् त्यसले सरकार गठनका लागि अर्थ राख्ने छ। अहिलेकै जितलाई आधार मानेर हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) ले अहिले जितेको र अग्रता कायम गरेको संख्याका आधारमा गठबन्धनलाई सरकार बनाउन निकै कठिन बहुमत पुग्ने देखिन्छ। प्रत्यक्षतर्फ कांग्रेसको ५५, माओवादीको १७, एकीकृत समाजवादीको १०, लोसपा ४, राष्ट्रिय जनमोर्चा १ गरी गठबन्धनको सिट संख्या ८७ पुग्न जान्छ। गठबन्धन दलले समानुपातिकबाट ५१ सिट ल्याउनुपर्ने हुन्छ सरकार गठनका लागि। २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा १ अनुसार गठन हुने छैन। ७६(२) अनुसार सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यको नेतृत्वमा सरकार गठन हुने छ। २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ जना आवश्यक पर्छ। एमाले वा कांग्रेसमध्ये जसले १३८ जना पुर्‍याउन सक्छन् उसैको नेतृत्वमा अबको सरकार बन्ने छ।

समानुपातिक र प्रत्यक्ष तर्फको गरी पहिलो दल हुने दिशामा अघि बढिरहेको नेपाली कांग्रेसलाई गठबन्धन र गठबन्धन बाहिरका दलसँग मिलेर सरकार बनाउन एमाले र अरू दलको तुलनामा केही सहज हुने छ। अहिलेसम्मको परिणामअनुसार चौथो स्थानमा रहेको रास्वपा कसको कित्तामा खुल्ने छ त्यसले पनि त्यसले पनि अबको सत्ताको खेलमा रोचकता थप्ने छ।

काठमाडौं-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी सोबिता गौतमले पार्टीमा छलफल गरेर मात्रै सरकारमा जाने नजानेबारे निर्णयमा पुग्ने बताइन।

‘धेरै सिट प्राप्त गर्छौँ भन्नेमा आशावादी छौँ। सरकारमा जाने नजाने भन्नेबारे छलफल गरेर निर्णय गर्छौँ,’ जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले भनेकी थिइन्।

संविधान अनुसार प्रतिनिधि सभाको बहुमत प्राप्त दल भएमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। बहुमत नपुगेमा सबैभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

समानुपातिक र प्रत्यक्ष गरी सत्ता गठबन्धनमा रहेका ५ दलको बहुमत नपुग्ने स्थितिमा एमालेले पनि बहुमतका लागि कोसिस गर्ने छ। किनभने यसअघि नै एमालेले चुनावमा जाँदा ‘मंसिर ४ ओली सरकार’ नारा दिएको थियो। त्यसैले संसदमा नेतृत्वमा गर्ने साना दलहरू पनि महत्त्वपूर्ण हुनेछन् सरकार गठनका लागि। सत्ता गठबन्धनमा रहेका दललाई सरकार गठनका लागि केही सहज किन पनि छ भने सत्ता गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार रहेका प्रभु साह, स्वतन्त्रबाटै उम्मेदवार रहेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह लगायतले चुनाव जिते सत्ता गठबन्धनमै खुल्ने बताइन्छ। अहिले केही जिल्लाहरूका केही क्षेत्रमा चुनाव हुन बाँकी छ भने कति ठाउँमा मत गणना नै हुन सकेको छैन। त्यहाँ कुन दलले जित्छ त्यसले पनि संसद्को अंक गणितमा निर्णायक भूमिका खेल्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell