
फिफा विश्वकप २०२२ अन्तर्गत गएराति सम्पन्न समूह 'एच' को खेलमा पोर्चुगलले घानालाई हराएको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा पोर्चुगलले घानामाथि ३-२ गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६५ औं मिनेटमा पोर्चुगलले अग्रता बनाएको थियो। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै पोर्चुगललाई अग्रता दिलाए। खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयूले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।
खेलको ७८ औं मिनेटमा जोआओ फिलिक्सको गोलमा पोर्चुगलले फेरि अग्रता बनायो। त्यस्तै ८० औं मिनेटमा राफेल लेओले गोल थपे। दुबै गोल ब्रुनो फर्नान्डेजको पासमा भएको थियो। यता घानाका लागि ओस्मान बोकरीले ८९ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन र, पोर्चुगलले खेल ३-२ गोलअन्तरले आफ्नो पक्षमा पार्न सफल भयो।
गएराति ४२ हजार २ सय दर्शकबीच पोर्चुगलका लागि पहिलो गोल गरेका क्रिस्टियानो रोनाल्डो पाँचवाट विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
गएराति नै सम्पन्न समूह 'एफ' को अर्को खेलमा दक्षिण कोरिया र उरुग्वेले अंक बाँड्दा पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। पोर्चुगलले समूहको अर्को खेलमा उरुग्वे र घानाले दक्षिण कोरियासँग खेल्नेछन्।