PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

कांग्रेसले कहिल्यै नजित्ने एमालेको आधार क्षेत्रमा मोहन बस्नेतले रचे इतिहास, क्षेत्र फेर्दा पनि कसरी जिते बस्नेतले?



पहिलोपोस्ट

कांग्रेसले कहिल्यै नजित्ने एमालेको आधार क्षेत्रमा मोहन बस्नेतले रचे इतिहास, क्षेत्र फेर्दा पनि कसरी जिते बस्नेतले?

  • फुलमान तामाङ-

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले रेकर्ड ब्रेक गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसले कहिल्यै जित निकाल्न नसकेको क्षेत्रमा बस्नेतले जित निकाल्दै इतिहास रचेका हुन्।

३९ हजार ३६७ मत ल्याउँदै बस्नेत विजयी बनेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए। बस्नेतले ११ हजार ८७४ मतान्तरसहित जित निकालेका हुन्

त्यसो त एमालेका शेरबहादुर तामाङले लगातार जित्दै आएको क्षेत्र, त्यसमाथि क्षेत्र फेरेर आएका बस्नेत। पार्टीभित्रैको असन्तुष्टिका कारण जित निकाल्न कठिन थियो उनलाई। यद्यपि, टिकट पाउनसाथ बस्नेत रातदिनमात्र खटेनन्, गठबन्धनका अनेकन आशंकलाई निराकरण गर्दै जित निकाले उनले।

यो क्षेत्रमा छैन कांग्रेसको जितको रेकर्ड

सिन्धुपाल्चोक क्षेत्र २ को निर्वाचनको इतिहास पल्टाउने हो भने कांग्रेसबाट अहिलेसम्म कुनै उम्मेदवार निर्वाचित हुन सकेको छैन। अर्को क्षेत्रबाट उम्मेदवार पठाएकै कारण यस्तो भइरहेको यहाँका नेताहरु बताउँछन्

क्षेत्र २ मा यसअघि विनोद मोक्तान र भुपेन्द्र थापा लड्न आएका थिए। क्षेत्र १ कै भोला बोहराले अवसर पाउँदा भने यही क्षेत्रका राजेन्द्रमान ताल्चाभँडेलले टिकट खोसेका थिए। यसो त यहाँ साविक क्षेत्रकै उम्मेदवार हुँदा पनि कांग्रेसमा जितको रेकर्ड छैन।

सिन्धुपाल्चोक पहिले क्षेत्र ३ थियो। त्यसमा क्षेत्र १ मा एमालेका अमृत बोहरा जित्दै आएका थिए। उक्त क्षेत्रमा बस्नेतले जित निकालेसँगै उनको उदय भयो। तर, अघिल्लो निर्वाचनमा भने बस्नेत माओवादीका अग्निप्रसाद सापकोटासँग पराजित भए। बाम गठबन्धन भएकाले त्यतिबेला मोहनलाई असहज भएको थियो।

यता क्षेत्र २ मा राप्रपा र एमालेले पालैपालो जित्दै आएको थियो। क्षेत्र ३ मा पहिले राप्रपाका पशुपतिशम्शेर राणाले आफ्नो आधार क्षेत्र बनाए। संविधान सभाको निर्वाचनपछि कहिले माओवादी त कहिले एमालेले जित्दै आयो। २०७४ पछि सिन्धुपाल्चोक दुई क्षेत्र बन्यो। यो क्षेत्रमा २०७४ मा एमालेका शेरबहादुर तामाङले दोस्रो जित निकाले।

क्षेत्र २ र ३ मा कांग्रेसबाट विनोद मोक्तान, कान्छा लामा, राजेन्द्रमान ताल्चाभँडेल, तारानाथ दाहाल, कांग्रेसका पूर्व जिल्ला सभापति विकास लामा, भूपेन्द्र थापा प्रत्यासी बनेका थिए। तर जित कसैले निकाल्न सकेनन्।

एमालेकै गढमा बस्नेतको सहज जित

४९ वडा रहेको यस क्षेत्रमा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणम हेर्ने हो भने एमाले कांग्रेसभन्दा २ हजार मतले अघि छ। सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा ४९ वडाहरु छन्। जसअन्तर्गत हालै सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा (एमाले)ले २ पालिकासहित २१ वटा वडामा जित निकाल्यो।

इन्द्रावती र पाँचपोखरीमा प्रमुख र उपप्रमुख दुवै एमालेबाट निर्वाचित भए। यी दुई पालिकामा वडाध्यक्षहरुले पाएको मतको आधारमा एमाले पहिलो नम्बरमा छ।

यता, कांग्रेसले पनि २ पालिका मेलम्ची र हेलम्बुको प्रमुखसहित २० वटा वडामा जित निकाल्यो स्थानीय तह निर्वाचनमा। यो क्षेत्रमा एमालेभन्दा २ हजार मतान्तरले दोस्रो स्थानमा कांग्रेस छ। सिन्धुपाल्चोक क्षेत्र २ मा स्थानीय निर्वाचको मतपरिणाम अनुसार एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ०७९, राप्रपाको ५९३२, एकीकृत समाजवादीको १६६३ मत रहेको छ। यद्यपि गठबन्धनको जोड्दा कांग्रेसको राम्रो मत थियो र यसमा राप्रपा पनि जोडे बस्नेतले।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेत र तामाङको मतान्तर हेर्दा सहज जित देखिन्छ। तर यस क्षेत्रमा टिकट पाए पनि सधैं हारिने ठाउँ भएकाले बस्नेतले निकै मेहेनत गर्नुपरेको थियो। माओवादीसँग गठबन्धन भए पनि माधव सापकोटा सुवोधलाई आफ्नो क्षेत्रको टिकट खोसेकाले बस्नेतले रुचाउँदैनन् भन्ने आशंका थियो। बदलामा क्षेत्र १ मा बस्नेतले माधवको मत एमालेका सरेश नेपालतिर पार्छन् भन्ने हल्ला उस्तै थियो। तर आशंका चिर्न सफल भए बस्नेत। क्षेत्र १ मा गठबन्धनकै उम्मेदवारहरु निर्वाचित भए।

यता टिकट वितरणदेखि पार्टीको कारबाहीका कारण नेताहरु असन्तुष्ट थिए नै। यही बीचमा बस्नेतले राप्रपाका नेताहरुलाई कांग्रेसमा धमाधम प्रवेश गराए। जसले गर्दा एकाएक बस्नेतको पक्षमा माहोल बन्यो। अर्को कारण कारवाहीको डरले कांग्रेस क्षेत्र २ का नेताहरु अन्तर्घातको स्तरमा उत्रेनन्। जसले गर्दा पनि मोहनको पक्षमा माहोल बन्यो।

शेरबहादुरको कमजोरी!

एमालेका उम्मेदवार तामाङको कमजोरीले बस्नेत एकाएक बलियो देखिए। एमालेको मताधार भनिएको इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिकाका कार्यकर्तामा एमालेका नेता तामाङप्रति तीव्र असन्तुष्टि भित्रभित्रै फैलिएको थियो। चुनावको सँघारमा तामाङले यसलाई सम्बोधन गर्न नसक्दा उनी फराकिलो मतान्तरले पराजित बन्न पुगे।

योपटक गर्दा यस क्षेत्रमा एमालेबाट शेरबहादुरको चौथोपटक उम्मेदवारी परेको हो। यसअघि २०६४, २०७०, २०७४ मा उनले प्रत्यक्षतर्फ टिकट पाएका थिए। उनले २०७० र २०७४ मा जित हात पार्दै सांसद भए।

यद्यपि एमालेका नेता कार्यकर्ता उनको उम्मेदवारीबाट सन्तुष्ट थिएननन्। 'काम नगर्ने तर गफ बढी गर्ने' नेताका रुपमा शेरबहादुरलाई स्थानीय कार्यकर्ताले लिन थालेका थिए। ओली सरकारमा कानुनमन्त्रीसमेत बनिसकेका तामाङले यो क्षेत्रमा अन्य उम्मेदवारको विकल्प नहुँदा टिकट पाएको बताइन्छ।

जातीय मत पनि जितको कारक

बस्नेतले फराकिलो मत पाउनुमा जातीय मत पनि एउटा कारण रह्यो। लगातार तामाङलाई उम्मेदवार बनाएपछि बाहुन क्षेत्री समुदायका एमाले कार्यकर्तालेसमेत कांग्रेसका बस्नेतलाई मत दिएको बताइन्छ। यसपटक प्रदेश सभा क मा गठबन्धनका युवराज दुलाल दोस्रोपटक निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेबाट अमनसिंह तामाङ थिए।

यता प्रदेश सभा ख मा एमालेका हस्त पण्डितले पाएको मतबाट पनि यो प्रष्ट हुन्छ। ख बाट कांग्रेसबाट कृष्णकुमार तामाङ निर्वाचित भए तर कम मतान्तरबाट। प्रदेश ख मा एमालेका नेताहरुले संघमा बस्नेतलाई र प्रदेशमा पण्डितलाई मत बाँडेको बताइन्छ। जुन मतान्तरबाट पनि प्रष्टिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell