PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कांग्रेसमा निर्वाचित भए प्रधानमन्त्रीका सबै दाबेदार, को बस्लान् ड्राइभिङ सिटमा?



नेत्र तामाङ

कांग्रेसमा निर्वाचित भए प्रधानमन्त्रीका सबै दाबेदार, को बस्लान् ड्राइभिङ सिटमा?

काठमाडौं : निर्वाचनपछि आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने घोषणासहित चुनावमा होमिएको हो कांग्रेस। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा तय गरेर निर्वाचनको संग्राममा होमिएको कांग्रेसबाट सत्ताको बागडोर अब कसले समाउँला?

अहिले धेरैको चासोको विषय बनेको छ यो। यसकारण पनि यो चासोमा छ कि कांग्रेसका दर्जन नेताहरुले यसपटक प्रधानमन्त्रीमा आकंक्षा राखेका छन्। रोचक त के रह्यो भने नेतृत्वमा आकंक्षा राख्नेहरु सबै निर्वाचित भएर आएका छन्।

सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालासम्म छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पटक-पटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहने नेतामा पर्छन्। प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका आकांक्षी हुन्। संस्थापनइतरको नेतृत्व गरिरहेका डा शेखर कोइरालाले पनि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका छन्।

संस्थापनइतरकै नेता महामन्त्री गगन थापाले उम्मेदवारी दर्तापछि आइतवार आफू ड्राइभिङ सिटमै बस्ने गरी अघि बढेको बताए। पूर्व महामन्त्री डा शशांक कोइरालाले उम्मेदवारी दर्तापछि आफू प्रधानमन्त्रीको क्यान्डिडेट भएको बताए।

छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा देउवा

कांग्रेस सभापति देउवा चुनावी कमान्ड सम्हालेर आफ्नै नेतृत्वमा फेरि सरकार बनाउने दाउमा छन्। २०७४ मा आफ्नै कमान्डमा निर्चाचन गर्दा पनि कांग्रेस नराम्ररी पराजित बन्यो। १६५ प्रत्यक्ष सिटमा २३ सिटमात्र जितेपछि प्रतिपक्षमा थन्किएका देउवा कम्युनिस्टको कचिङ्गलपछि सर्वोच्चको परमादेशबाट सत्ताको बागडोर सम्हाल्न पुगे।

२०७४ को निर्वाचनअघि वाम गठबन्धनको मोर्चा सम्हालिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने ठोकुवा गरेका थिए।

धनगढीमा उक्त प्रश्नको सामना गर्दै देउवाले त्यतिखेर जवाफ फर्काएका थिए, ‘ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्, म फेरि तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ?’

उनले भनेको तीनमध्ये एक पटक प्रधानमन्त्री बनिसकेका छन्। ज्योतिषीको भनाइलाई आधार मान्ने हो भने अझै दुई पटक देउवा प्रधानमन्त्री हुन बाँकी छन्। यो निर्वाचनपछि उनी प्रधानमन्त्री भएमा छैटौं पटक पनि पुग्ने छ।

२०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री भएका उनी यसअघि २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए।

सातौं पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवा २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसयता सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् उनी। देउवा २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ बाट पनि निर्वाचित भएका थिए।

उनी २०४८ मा सांसद बनेपछि गृहमन्त्री बने। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो।

देउवाको निगाह पर्खँदै रामचन्द्र

कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकंक्षी हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल। प्रधानमन्त्री बन्न १७ पटक निर्वाचन लडेको ट्याग लागेका पौडेल यसपटक कांग्रेसको नेतृत्वमा सरकार बने प्रधानमन्त्री बन्ने दाउमा छन्।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औँ वार्षिकोत्सवमा पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताएका थिए।

‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’, उनले भनेका थिए, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ।’

पौडेल यसपटक तनहुँ १ बाट निर्वाचित भइसकेका छन्। निर्वाचित हुनासाथ पौडेलले कांग्रेस सभापति देउवासँग भेट गरिसकेका छन्। निर्वाचनअघि पहिलोपोस्टसँगको कुराकानीमा उनले आफूले प्रधानमन्त्री पद पाए देशको भलो हुने बताएका थिए।

१३औँ महाधिवेशनमा देउवासँग सभापति भिडेका पौडेलले कांग्रेसमा ‘पौडेल समूह’को नेतृत्व गरेका थिए। १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पार्टीको कमान्ड सम्हाल्ने कतिपयको अनुमान विपरीत पौडेलले ‘वाकओभर’ दिए। संस्थापनइतरमा उनलाई अरुले पत्याएनन् र संस्थापनइतर तितरबितर भयो।

त्यसपछि महाधिवेशनमा मत हाल्नसमेत गएनन्। पछिल्लोपटक पौडेल देउवाले आफूलाई प्रधानमन्त्रीको अफर गरेको बताउँदै आएका छन्। देउवाका कट्टर विरोधी पौडेल पछिल्लो समय नरम बनेका छन्। प्रधानमन्त्रीमा आफूलाई देउवाले पालो दिनुपर्ने उनको जोड भने कायमै छ।

शेखरको पनि प्रधानमन्त्रीमा दाबी

नेपाली कांग्रेसमा संस्थापनइतरको नेतृत्व गर्दै आएका डा शेखर कोइराला पनि प्रधानमन्त्रीका दाबेदार हुन्। केही समयअघि योहो टेलिभिजनसँगको संवादमा शेखरले चुनावपछि प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताएका थिए।

संस्थापनइतरमा नेतृत्व गरिरहेको शेखरले आफ्नो दाबीलाई थप बलियो बनाउन समानुपातिक सांसदमा आफ्नो पक्षको सहभागितालाई जोड गरे। यद्यपि, प्रत्यक्ष निर्वाचित हुने उम्मेदवारको संख्यामा भने शेखर पक्षले जोड गरेको देखिँदैन।

अन्तिम समयमा टिकटको टुंगो लागेकोले प्रत्यक्षमा शेखर समूहले नेताहरुको संख्या बढाउन नसकेको देखिन्छ। डा मिनेन्द्र रिजाल, डा स्वर्णिम वाग्ले, डा गोविन्दराज पोखरेलजस्ता प्रभावशाली नेताहरुलाई शेखर समूहले टिकट दिलाउन सकेन। जसका कारण संसदीय दलको नेतामा भिड्नका लागि शेखरको मत कम हुन सक्छ।

यद्यपि, देउवा समूहमा पनि असन्तुष्ट समूह रहेकोले ती समूहलाई सम्बोधन गर्न सकेमा सरकारको नेतृत्वमा शेखर पुग्न सक्ने कांग्रेसका नेताहरु बताउँछन्। देउवा समूहमा पछिल्लोपटक गृहमन्त्री रहेका बालकृष्ण खाणदेखि सुदूरपश्चिमका प्रभावशाली नेताहरुको टसल रहेको बताइन्छ। यसपटक शेखर मोरङ ६ बाट निर्वाचित भएर आएका छन्। पुराना प्रतिद्वन्द्वी लालबाबु पण्डितलाई भारी मतान्तरले पराजित गर्दै डा शेखर निर्वाचित भएका हुन्।

‘फस्टम्यान’ बन्ने दाउमा प्रकाशमान

कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकांक्षी हुन् प्रकाशमान सिंह। कांग्रेस उपसभापति भइसकेका र उपप्रधानमन्त्रीसम्म भइसकेका सिंहले राजधानीबाट देशलाई हाँक्ने मान्छे नपाएकोले देश पछि परेको बताउँदै आएका छन्। आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पदको त्याग गरेको विषयलाई कोट्याउँदै प्रकाशमान बुबाले त्यागेको सपना पूरा गर्ने दाउमा छन्।

यो सपना पूरा गर्न प्रकाशमानले अघिल्लोपटक निर्वाचित भएकै बेला प्रयास गरेका थिए। दलको नेता बन्न प्रकाशमानले २०७४ मा देउवासँग भिडेका थिए। ६३ मत रहेको कांग्रेसको संसदीय दलमा देउवाले ४४ मत प्राप्त गर्दा प्रकाशमानले १९ मतमात्र पाए।

१४औँ महाधिवेशनमा सभापतिमा भिडेका प्रकाशमानले दोस्रो राउन्डमा देउवालाई सघाएका थिए। प्रकाशमानको घरमै पुगेर देउवाले के सम्झौता गरेका थिए? त्यसबारे त केही खुलेको छैन। यद्यपि, देउवाको तीव्र विरोधमा उत्रने प्रकाशमानको बोली फेरिएको छ। उनी अचेल देउवाको बचाउ गर्छन्।

अबको संसदीय बाटो कस्तो हुनेछ, प्रधानमन्त्रीको आकंक्षाबारे के हो? काठमाडौं १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीले राखेको प्रश्नमा उनले आफूले अघिल्लो संसदमै यसका लागि प्रयास गरेको बताए। यसपटक कांग्रेसको चुनावी परिणामपछि परिस्थिति हेरेर अघि बढ्ने सिंहको भनाइ रह्यो।

‘पहिलो पनि संसदीय दलमा भिडेकै हुँ। परिस्थितिलाई अध्ययन गरेर पार्टीलाई के गरेर राम्रो हुन्छ त्यसरी अघि बढ्छु’, सिंहले भने, ‘दाबी त अघिल्लो पटक गरेकै हुँ। देशभरीको रिजल्ट आउँछ। त्यो हेरेर अघि बढ्छु।’

युवाको साथ पाउँदा गगनको गर्जन

कांग्रेसमा महामन्त्री गगन थापा प्रधानमन्त्री दाबी गर्ने युवा नेता हुन्। स्वास्थ्य मन्त्रालय हाँकिसकेका गगनलाई युवा वर्गले रुचाएका पनि छन्। उनी प्रधानमन्त्रीको उम्मेदवार बने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सघाउने देखिन्छ।

महामन्त्री शर्माले सार्वजनिक वक्तव्यमार्फत नै आफूले सघाउने बताइसकेका छन्। उम्मेदवारी दर्तापछि गगनले पार्टीको मुल जिम्मेवारीमा बसेर देशको नेतृत्व गर्ने आशयको भनाई राखे।

‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरुले ल्याउनु भएकोमा उहाँहरुलाई धन्यवाद दिँदै, उहाँहरुलाई आभार प्रकट गर्दै अब ड्राईभिङ सिटमा आफैं बसेर अब यो भन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मुल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो,’ उम्मेदवारी मनोनयनपछि थापाले भनेका थिए।

काठमाडौं ४ बाट निर्वाचित हुनासाथ बुढानिलकण्ठ पुगेर गगनले यही भनाई दोहोर्‍याएका छन्। ‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ। यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले मात्र दिन सक्छ’, मतदातालाई धन्यवाद दिँदै गगनले भने, ‘कांग्रेसमा पनि नयाँ नेतृत्वको आवश्यकता छ।’

प्रधानमन्त्रीमा दाबीका लागि प्रक्रियामा आफू तत्कालै जुट्नेसमेत उनको भनाइ थियो। ‘म आजैबाट कांग्रेसको संसदीय दलको निर्वाचनका लागि जुट्छु। देशलाई हाँक्न नयाँ जोशका साथ म लाग्छु,’ थापाले भने।

शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगन पछिल्लोपटक देउवाको निकटपात्र बनेका छन्। गत स्थानीय निर्वाचनमा घोषणापत्र बनाउने जिम्मा गगनलाई दिएको थियो। पछिल्लो निर्णयहरुमा देउवाले गगनलाई गहन जिम्मेवारी दिँदै आएका छन्।

संस्थापनइतरमा डा शेखरपछि गगनलाई प्रधानमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिँदै आएको छ। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिने वचन दोहोर्‍याइसकेका छन्।

शशांकको पनि रहर

कांग्रेस महामन्त्री बनिसकेका डा शशांक कोइराला प्रधानमन्त्रीका अर्का दाबेदार हुन्। अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् उनले। यद्यपि, आफ्नो समूहका नेतालाई भने मन्त्रिपरिषदमा पठाउन सफल नेताका रुपमा उनलाई लिइन्छ।

रामचन्द्र पौडेललाई सभापतिमा सघाउने तयारीमा रहेका शशांकले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चित्त बुझाए। यद्यपि, बीपीपुत्र भएकाले धेरैको सद्भाव शशांकमाथि रहेको छ। उनले पनि कांग्रेसमा आफ्नो गुट विस्तार गरिरहेका छन्।

त्यसैले पनि होला उनले निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने उद्घोष गरेका थिए। नवलपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएपछि कोइरालाले भनेका थिए, ‘यो चुनावपछि अर्को एउटा सपना छ। यो अहिले भन्न त उपयुक्त हुन्न। तर प्रधानमन्त्रीको पोस्टको लागि पनि मैले सोचेको छु।’

उनको भनाइ आउनसाथ सञ्चारकर्मीले क्रस क्वेसन गरे - तपाईं प्रधानमन्त्री पदको उम्मेदवार हो?

तुरुन्तै उनले जवाफ फर्काए : एक किसिमले हो। तर, अहिले भन्न त उपयुक्त हुन्न। पहिले त जित्नुपर्छ। अनि पार्टीमा छलफल हुनुपर्छ।
शशांक कोइराला प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ भनेर प्रेसले बुझ्नुपर्‍यो हैन? अर्को प्रश्नको सामना गरे उनले।

जवाफमा शशांकले प्रतिप्रश्न गरे, ‘लाइनमा त छु नि म। तीन तीन चोटि जितिसके। महामन्त्री भइसकें। अब जाने ठाउँ कहाँ?’ निर्वाचनमा कोइरालाले जित निकालेका छन्। निर्वाचित भएपछि पनि आफ्नो दाबी प्रधानमन्त्रीमा रहने शशांकले बताइसकेका छन्।

कतिपयले देउवाले अबको नेतृत्व शशांकलाई छाड्ने चर्चा पनि गर्छन्। तर, गठबन्धनको अहिलेको सत्ता गठबन्धनको सरकार बन्ने हो वा होइन अंकगणित पर्खनैपर्नेछ। र, अर्को विषय प्रधानमन्त्री दाबीका लागि संसदीय दलको नेतामा भिडेर जित्नुपर्ने त छँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell