PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

कांग्रेसका तीन सहमहामन्त्री पराजित, एक उपसभापति मतगणनाको माग गर्दै धर्नामा



पहिलोपोस्ट

कांग्रेसका तीन सहमहामन्त्री पराजित, एक उपसभापति मतगणनाको माग गर्दै धर्नामा

काठमाडौं : निर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका तीन सहमहामन्त्री पराजित भएका छन्। पाँचथरबाट निर्वाचनमा उत्रिएका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे एमालेका वसन्त नेम्वाङसँग पराजित बनेका हुन्।

बालुवाटारमा जितको लिस्टमा रहेका आङ्देम्बे एमालेका नेम्वाङसँग ४७ मतान्तरले हारे। नेम्वाङले ३२ हजार ११० मत पाउँदा आङ्देम्बेले ३२ हजार ६३ मतमात्र पाए।

यसैगरी, खानेपानीमन्त्री समेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरीले पनि हार व्यहोरेका छन्। बारा १ मा निर्वाचनमा उत्रिएका चौधरीलाई एमालेका अच्युत मैनालीले पराजित गरेका हुन्। मैनालीले २९ हजार १९५ मत पाउँदा चौधरीले ३० हजार ५६ मतमात्र पाए।

गठबन्धन बनाएर निर्वाचनमा होमिँदासमेत जित निकाल्न नसक्ने कांग्रेसकी अर्का सहमहामन्त्री हुन् महालक्ष्मी उपाध्याय डिना। मकवानपुर १ बाट निर्वाचनमा उत्रिएकी उनले तेस्रो स्थानमा चित्त बुझाइन्। मकवानपुर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन्।

पदाधिकारीहरुको कहाँ के हुँदैछ?

कांग्रेस पदाधिकारीहरुमा सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी डडेल्धुराबाट सातौँ पटक निर्वाचित भएका हुन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि सुर्खेत १ बाट जित निकालेका छन्। अघिल्लो पटक हार व्यहोरेका खड्का यसपटक भने निर्वाचित भएका हुन्।

कांग्रेसका अर्का उपसभापति धनराज गुरुङको क्षेत्रमा भने मतगणना हुन सकेको छैन। गुरुङ तत्काल मतगणना हुनुपर्ने भन्दै धर्नामा छन्। स्याङ्जा २ मा एमालेले पुन मतदानको माग गर्दै मतगणना अवरुद्ध पारेको छ। कांग्रेसका ८ सहमहामन्त्रीमध्ये दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र जीवन परियार भने समानुपातिक सूचीमा छन्।

कांग्रेसका दुई महामन्त्री निर्वाचित भइसकेका छन्। गगन थापा काठमाडौं ४ बाट निर्वाचित हुँदा विश्वप्रकाश शर्मा झापा १ बाट विजयी भइसकेका छन्।

कांग्रेसका अर्का सहमहामन्त्री किशोरसिंह राठोर बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। राठोर २९ हजार ४० मतसहित विजयी भएका छन्।

यता अर्का सहमहामन्त्री महेन्द्र यादव धनुषा ४ मा निर्वाचित हुने दौडमा छन्। मतगणना जारी रहेको यस क्षेत्रमा यादवको एमाले रघुवीर महासेठसँग कडा टक्कर परेको छ।

अर्का सहमहामन्त्री बद्री पाण्डेको मतगणना हुन सकेको छैन। निर्वाचनकै दिन झडप भएपछि यहाँको मतगणना अनिश्चित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell