
काठमाडौं : सांगीतिक ब्यान्ड ‘एक्सिस’ ले काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’ कन्सर्ट गर्ने भएको छ। मंसिर १६ गते शुक्रबार क्लब फरेनहाइटमा हुने कन्सर्टमा एक्सिसले आफ्नो प्रस्तुति दिनेछ।
पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो। साथै नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो ।
पीभीइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुती अघि झिल्के एण्ड द कम्पनीले प्रस्तुती दिनेछन्। पीभीइले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्सट टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ।
नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिनेछ। कार्यक्रमको प्री सेल्स टिकट सबै सोल्ड आउट भएको छ। कार्यक्रमका लागि १ हजार र १५ सय टिकट मूल्य निर्धारण गरिएको छ।
एक्सिसको स्थापना सन् २००३ मा भएको हो। बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो ब्यान्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ। ब्यान्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००४)’, ‘माफ गरिदेउ(२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एलबम दर्शकमाझ ल्याइसकेको छ।