PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सईबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भु : खरेललाई छाडेर रविको पार्टीबाट उम्मेदवार, तर पनि संसद छिर्ने बाटो रोकियो



पहिलोपोस्ट

सईबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भु : खरेललाई छाडेर रविको पार्टीबाट उम्मेदवार, तर पनि संसद छिर्ने बाटो रोकियो

काठमाडौं : निर्वाचनको महलो तातेको थियो। पुराना दलभन्दा फरक विचार लिएका व्यक्तिहरु चुनावमा होमिने तर्खरमा थिए। पूर्व डिआइजी तथा सुशासन पार्टी नेपालका अध्यक्ष रमेश खरेल सहितको टोली पनि निर्वाचनमा होमिने तयारीमा थियो। अहिले शहरी जनमतमा घण्टी बजाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी पनि निर्वाचनमा होमिन उम्मेदवार छनोट गर्दै थियो त्यतिबेला। त्यही क्रममा सुशासन पार्टीबाट स्वतन्त्र र अन्य व्यक्तिलाई एक बनाएर जानुपर्ने भन्दै वार्ता भइरहेको थियो। सो वार्ता टोलीका एक सदस्य थिए शम्भु ढकाल (सुस्केरा)।

लगातारको वार्ता सफल भएन। त्यसपछि चुनावी माहोल बन्दै गयो। शम्भु एकाएक अध्यक्ष खरेलको सुशासन पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीतिर लागे। त्यसपछि झापा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिन पुगे।

'म वार्ता टोलीमा हुँदा मैले र मलाई अरुले पनि बुझ्ने मौका पाएँ। त्यसैको परिणाम होला म यतातिर आइपुगेँ। सबै स्वतन्त्रहरु एक भएर जानुपर्छ भन्ने थियो। तर त्यस्तो हुन सकेन,' ढकालले भने।

झापा कन्काई नगरपालिका वडा नम्बर १ घर भएका शम्भुले लामो समय प्रहरीमा बिताएका छन्। अहिले तिनै ढकाल सांसद बन्ने लाइनमा देखिएका थिए। मतगणनाको सुरुवाती चरणमा उनले अग्रता कायमसमेत राखेका थिए। १५ हजार मत गणना हुँदा उनले ६ हजार ५८२ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बुले ६ हजार २ सय २९ मत ल्याएका छन्। 

'सम्मानित मत ल्याएको छु। सँगै हिँडेको भए धेरै राम्रो हुन्थ्यो। कोही दम्भले कोही स्वतन्त्र भन्दै हिँडे,' शभ्भुले भने।

उनी २०५५ सालमा जवानबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। त्यसपछि असईमा भर्ना खुल्यो उनले आवेदन दिए, त्यसमा पनि नाम निकाल्न सफल भए उनी। तर, लामो समय नेपाल प्रहरीमा ट्राफिक सम्बन्धि कार्यक्रममा नै बिताए। उनले ट्राफिक एफएममा समेत काम गरे। त्यही अवधिमा दुईवटा कथाग्रह समेत प्रकाशन गरे उनले।

प्रष्ट बोल्ने शम्भुलाई प्रहरीभित्रको राजनीतिले वाक्क बनाइसकेको थियो। त्यसैको उपज हुनुपर्छ उनले २०७७ माघमा राजीनामा दिएर निस्किए। त्यति खेर संगठनका अर्का पूर्व डिआइजी रमेश खरेल पनि राजनीितमा आफ्नो आवरण बनाउँदै थिए। त्यही खरेल पथ उनले पनि पछ्याए।

नेपाल प्रहरीबाट असन्तुष्टीका कारण राजीनामा दिएर पूर्वडीआइजी नवराज सिलवाल, रमेश खरेल पनि यसपटको निर्वाचनमा होमिएका थिए। तर उनीहरुले सांसद बनेर संसद भवन छिर्ने अवसर गुमाइसकेका छन्। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पनि उनीहरुको जस्तै हविगत भएको छ। सईबाट राजीनामा दिएका शम्भुको पनि संसद छिर्ने बाटो रोकिएको छ। मतगणनाको अन्तिम चरणमा शम्भुले आफ्नो अग्रता कायमै राख्न सकेनन्। शभ्भुले १४ हजार ६९ मत मात्र प्राप्त गरे।

नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन्। ३४ हजार ९ सय ५९ मत ल्याएर प्रधानले नेपाली कांग्रेसका देवन्द्रराज कँडेललाई हराएका हुन्। कँडेल पूर्व गृहराज्यमन्त्री हुन्। पूर्व प्रहरी महानिरीक्षक प्रधान २०५६ सालमा आम निर्वाचनबाट राजनीतिमा होमिएका थिए। नवलपरासी ४ बाट २०६४ र २०७० को निर्वाचनमा उनी लडेका थिए। तर, विजयी भने हुन सकेका थिएनन्। त्यसपछि २०७४ सालमा राप्रपा प्रजातान्त्रिकबाट समानुपातिकमा बनेका उनी पार्टीले थ्रेसहोल्ड कटाउन नसकेपछि सांसद बन्न सकेका थिएनन्। यस पटक भने सांसद बन्ने उनको सपना पूरा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell