PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

युवाले मात्रै नेतृत्व गर्न सक्छन् भन्ने होइन, पाका नेता पनि सक्षम छन् : शेखर कोइराला



अनन्तराज न्यौपाने

युवाले मात्रै नेतृत्व गर्न सक्छन् भन्ने होइन, पाका नेता पनि सक्षम छन् : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता एवम् मोरङको ६ बाट नवनिर्वाचित सांसद् डा. शेखर कोइरालाले मुलुकले नयाँ नेतृत्व खोजिरहेको उल्लेख गर्दै नेतृत्वमा युवा नै आवश्यक नभएको धारणा प्रकट गरेका छन्।

काठमाडौं ४ बाट नवनिर्वाचित सांसद् गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका लागि दाबी गरिरहेका बेला कोइरालाले नेतृत्वमा युवा नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएका हुन्।

विराटनगरस्थित आदर्श विद्यालयको निर्वाचन कार्यालयमा निर्वाचित भएपछिको प्रमाणपत्र ग्रहण गरेपछि स्थानीय संवाददातालाई कोइरालाले भने, ‘देशले नयाँ र सक्षम नेतृत्व खोजेको छ। यसमा युवाले मात्र सक्छन् भन्ने मलाई विश्वास छैन। पाका नेता पनि त्यत्तिकै सक्षम छन् भन्ने सबैले बुझ्नुपर्छ।’

के तपाईं नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि प्रतिस्पर्धी हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मलाई थाहा छ, जनताले मलाई त्यस भूमिकामा देख्न चाहनु भएको छ। तर हाम्रो संसदीय दल कस्तो बन्छ भन्ने अहिले स्पष्ट भइसकेको छै। प्रत्यक्ष तर्फकै सबै परिणाम आइसकेको छैन। समानुपातिकको त सिङ्गै रिजल्ट आउन बाँकी छ। सबै परिणाम आएपछि साथीभाइ र शुभेच्छुकसित सल्लाह गरेर म अघि बढ्नेछु।’

उनले यसपटकको निर्वाचनको मुख्य मुद्दा नै दण्डहीनताको अन्त्य, सुशासन र भ्रष्टाचार न्यूनीकरण भएको बताए। उनले आगामी सरकारले दण्डहीनताको अन्त्य गर्न नसके अनि सुशासन र भ्रष्टाचार न्यूनीकरण नगरे कांग्रेस पार्टीले संसददेखि सडकसम्म नछाड्ने चेतावनी दिए।

‘म त सांसद् भएँ। सुशासन, भ्रष्टाचार न्यूनीकरण र दण्डहीनताको अन्त्यका लागि संसदमा भूमिका गर्नेछु’, डा. कोइरालाको भनाइ थियो, ‘संसदमा नभएका साथीहरूले सडक तताउनु हुनेछ।’

उनले विकासबिना सुशासन र सुशासनबिना विकास सम्भव नहुने जिकिर गर्दै आफ्नो पूर्ण ध्येय र चेष्टा सुशासनमै केन्द्रित हुने दोहोर्‍याए।

उनले यसपटकको निर्वाचनमा परम्परागत दलप्रति वितृष्णा बढेको भन्ने आरोपलाई अस्वीकार गरेका छन्।

उनको कथन छ, ‘परम्परागत दलप्रति जनताको वितृष्णा बढेको भन्ने म मान्दिन । तर केही व्यक्तिप्रति वितृष्णा बढेको चाहिँ अवश्य हो ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell