PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अहिलेसम्मको नतिजाले कस्तो देखाउँछ गण्डकीमा प्रदेश सरकार गठनको अकंगणित?



रिना थापा

अहिलेसम्मको नतिजाले कस्तो देखाउँछ गण्डकीमा प्रदेश सरकार गठनको अकंगणित?

पोखरा : गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रमा बाहेक सबैमा मतपरिणाम आइसकेको छ। स्याङ्जा क्षेत्र नं २ मा विवादका कारण मतगणना सुरु हुन सकेको छैन।  प्रदेशसभा तर्फ हालसम्मको मतपरिणाम अनुसार गण्डकी प्रदेशमा कुनै पनि दलको एकल सरकार सम्भव देखिदैन।

२०७४ सालको निर्वाचनपछि गण्डकीमा पहिलो सरकार बनाएको नेकपा एमालेले यसपटक सरकार गठनका लागि प्रत्यक्षतर्फ पर्याप्त सिट जितेको छैन। गठबन्धनमा रहेका दलहरुले पनि बहुमत जुटाउन सकेका छैनन्।

१८ प्रतिनिधिसभा र ३६ प्रदेश निर्वाचन क्षेत्र छ गण्डकीमा। ६० सदस्यी गण्डकीमा २४ जना सांसद समानुपातिक तर्फबाट आउँछन्। ३१ सांसद आवश्यक पर्छ सरकार बनाउन। त्यसैले मतपरिणामले कठिन देखाएको छ गण्डकीमा कुनै एक दलको मात्र एकल सरकार बन्न।

हालसम्म ३६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले १६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ। एमालेले भने १२ वटा सिट हात पार्दा माओवादी केन्द्रबाट ५ सिट छ। मनाङ १(ख)मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

हालसम्म गण्डकीमा समानुपातिक तर्फ एमालेको अग्रता छ। निर्वाचन आयोगले दिएको मतपरिणाम अनुसार एमालेले २ लाख १२ हजार ८०४ प्राप्त गरेको छ। दोस्रो नम्बरमा कांग्रेसका १ लाख ८७ हजार ५८३ मत ल्याउँदा माओवादी केन्द्रले ९१ हजार ६ मत पाएका छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ हजार ४११ ल्याउँदा राष्ट्रिय जनमोर्चाले १३ हजार ५९१ मत ल्याएको छ ।

यसअघिको निर्वाचनमा प्रदेश तर्फ एमालेले प्रत्यक्षमा १७ सिट जितेको थियो। तत्कालिन बाम गठबन्धन बनाएर चुनावमा होमिएको एमालेले १० सिट समानुपातिकबाट प्राप्त गरेको थियो। माओवादी केन्द्रसँग मिलेर गण्डकीमा सरकार बनाएको एमालेले पार्टीगत विवाद चर्किएपछि ढल्यो।

अहिलेको निर्वाचनमा माओवादी केन्द्र सहित पाँच दलीय गठबन्धन बनाएर मैदानमा होमिए। सिट बाँडफाँडमा प्रदेशतर्फ कांग्रेसले २१, माओवादी केन्द्रले १२, नेपाल समाजवादी पार्टी र एकीकृत समाजवादीले एक–एक सिट पाएको थियो। २१ क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेसले १६ स्थानमा जीत हासिल गरिसकेको छ। विवादित बनेको स्याङ्जा क्षेत्र नं २, क र ख मा कांग्रेसका उम्मेदवार छन्। त्यस क्षेत्रबाट कांग्रेसले जीत निकाले पनि सरकार गठन गर्न कांग्रेसलाई बहुमत पुग्दैन।

समानुपातिकमा अहिलेसम्म कांग्रेस दोस्रो स्थानमा छ यो प्रदेशमा। अघिल्लो समानुपातिकमा ९ सिट पाएको कांग्रेसले यसपालि पनि ९ सिट प्राप्त गरे सरकार गठन गर्न कठिन छ।

माओवादी केन्द्रले प्रदेशमा हालसम्म ५ सिट जितेको छ। पाँच सिटमध्ये गोरखा २(क)बाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीले चुनाव जितेको हो। यसअघि माओवादी केन्द्रले समानुपातिकमा तीन सिट प्राप्त गरेको थियो। अहिले पनि माओवादी केन्द्रले ३ सिट पाएर संख्या आठ पुर्‍याए कांग्रेससँग मिलेर सरकार गठन गर्न भने सहज छ।

तर, माओवादी केन्द्रले कसलाई समर्थन गर्छन् त्यसले पनि निर्णय हुन्छ सरकार गठनमा। शुक्रबार मात्र निर्वाचित भएको प्रमाणपत्र लिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अपेक्षा अनुसारको मतपरिणाम नआएको गुनासो पोखेका छन्।

यद्यपी समानुपातिक तर्फको मतपरिणाम नआई सरकार गठनको अंकगणित आकंलन गर्न सहज छैन। समानुपातिक तर्फको मत हेर्दा यसपालि गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सांसद पनि आउने देखिन्छ। समानुपातिकको नतिजाले मात्र गण्डकीमा कुन दललाई सरकार गठन गर्न सहज हुन्छ देखिनेछ। निर्णयक बनेको माओवादीको समर्थन कसलाई जान्छ त्यसले पनि सरकार गठनमा भूमिका खेल्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell