पोखरा : पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको सत्ता गठबन्धनले गण्डकीमा अनेपक्षित नतिजा ल्याएको छ। गठबन्धनको दलमध्ये पनि नेकपा माओवादी केन्द्रको लागि यो नतिजा थप अनेपक्षित हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वाचनको नतिजा अनेपक्षित रहेको प्रतिक्रिया दिइसकेका छन्।
सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा प्रदेश तर्फ १२ वटा क्षेत्र परेको थियो। जसमध्ये ७ निर्वाचन क्षेत्रमा हार व्यवहोर्दै पाँच सिटमा सिमित भएको छ माओवादी गण्डकी प्रदेशमा।
अघिल्लो निर्वाचनमा वाम गठबन्धन गर्दै निर्वाचनमा होमिएको माओवादीले प्रदेशमा ९ सिट जितेको थियो। समानुपातिक तर्फ ३ सिट पाएको माओवादीको प्रदेश सभामा १२ सांसद थिए। अहिले त्यो संख्या घटेको छ। माओवादी उम्मेदवार रहेका गण्डकीको निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। माओवादीले अहिले जम्मा पाँच सिट जितेको छ। समानुपातिकको मतगणना जारी छ। समानुपातिक तर्फ माओवादी तेस्रो स्थानमा छ।
अघिल्लो निर्वाचनमा माओवादीले गोरखा १(क), तनहुँ १(ख, तनहुँ २(क), स्याङ्जा १(क), कास्की १ (क), कास्की ३(क), पवर्त १(क), म्याग्दी १(क) र बागलुङ २(क) बाट निर्वाचन जितेको थियो।
यसपाली यी सबै क्षेत्रमा माओवादीको उम्मेदवार उठेनन्। उम्मेदवार रहेका सबै क्षेत्रमा उम्मेदवारले जितेनन्। २०७४ सालमा जितेको क्षेत्रमा समेत माओवादीले हार व्यवहोर्नु परेको छ। हालसम्म गोरखा र म्याग्दीबाट दुई–दुई सिट र तनहुँ १(ख)बाट एक सिट गरि प्रदेशमा पाँच सिट जितेको छ माओवादीले। जित निकालेको क्षेत्रमा माओवादीको पकड रहेको क्षेत्रमा पर्छन्।
पार्टीका कार्यकर्ताबीचको असन्तुष्टीले पनि गठबन्धन भित्रै यसपटक अन्तरघात भएको देखिन्छ। जसको प्रमाण मतपरिणाम हो। २०७४ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ (क)बाट माओवादी केन्द्रका दिपक थापा निर्वाचित भएका थिए। सत्ता गठबन्धनले भागबन्डा मिलाउँदा यो क्षेत्र पुन: माओवादीको भागमा पर्यो। तर, नेपाली कांग्रेसका कार्यकर्ताले असन्तुष्टी जनाए। उम्मेदवारी दर्ता गराउने दिन कांग्रेसका मेखलाल श्रेष्ठ फर्जी कागज सहित बाजागाजा बजाउँदै निर्वाचन आयोग पुगेका थिए उम्मेदवारी दर्ता गराउन। तर, अन्त्यमा पछि हट्न बाध्य भए उनी।
यद्यपि, यसक्षेत्रबाट माओवादी केन्द्रकी उम्मेदवार अमृत थापाले हार ब्यहोर्नुपर्यो। उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभाकी निवर्तमान सांसद समेत हुन्। उनी एमालेकी सीता कुमारी सुन्दाससँग १४ सय २४ मतले पराजित भईन्।
बाम गठबन्धन हुँदा यसक्षेत्रबाट माओवादीका दिपकले १७ हजार ३९२ मत ल्याउँदै कांग्रेसका कमल प्रसाद पंगेनीलाई हराएका थिए।
यस्तो परिदृश्य कास्कीमा पनि रह्यो। कास्की १(क)मा पुन: दोहोरिने मनाश्य राखेर मैदानमा थिए माओवादीका दिपक कोइराला। अघिल्लो पटक यसक्षेत्रबाट १८ हजार ७२७ मत ल्याउँदै विजयी भएका उनी अहिले पराजित भएका छन्। उनलाई हराउँदै एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्। खगराज १५ हजार ६२३ मत पाउँदा दिपकले ११ हजार ६२७ मत ल्याए।
यस्तै कास्की ३(क)मा पनि माओवादीले हार ब्यहोर्नुपरेको छ। अघिल्लो पटक यसक्षेत्रबाट रामजी बराल सांसद निर्वाचित भएका थिए। उनै रामजी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए। तर, एमालेका दामोदर वैरागीसँग पराजित बने। प्रदेश तर्फ ३(क) विश्वप्रकाश लामिछाने थिए माओवादीका उम्मेदवार। उनी पनि एमालेका गणेशमान गुरुङसँग पराजित भए। अघिल्लो पटक कास्कीबाट माओवादीका दुई सांसद प्रदेश सभामा पुगेका थिए। जुन संख्या घटेर शून्यमा पुगेको छ अहिले।
तनहुँमा प्रतिनिधिसभातर्फ कांग्रेसलाई सघाएको माओवदीले प्रदेशमा हार व्यहोरेको छ। क्षेत्र नं १(ख)मा हरिबहादुर चुमान पुन: निर्वाचित भए यसक्षेत्रबाट। यता क्षेत्र नं २(ख)मा माओवादीका राजेन्द्र केसरी न्यौपाने पराजित भए। क्षेत्र नं २ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन्। मतपरिणाम आएलगत्तै जिल्ला संयोजक ओमराज आलेले नेपाली कांग्रेसबाट घात भएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए।