PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुरु भयो दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव, भोलि शबाना आजमीको मास्टर क्लास

सुरु भयो दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव, भोलि शबाना आजमीको मास्टर क्लास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आजबाट सुरु भएको छ। मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबिच दोस्रो संस्करण सुरु गरिएको हो।

यसपटक महोत्सवमा भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीलाई विशेष आतिथका रुपमा निमन्त्रणा गरिएको छ।

कार्यक्रमको उद्घाटन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मण्डला थिएटरले प्रशंसनीय कार्य गरेको बताउँदै आगामी संस्करणको निरन्तरताको लागि शुभकामना दिए। नेपाली रंगमञ्चमा नाट्य महोत्सवको अभाव भएको बेला यस फेस्टिभलले कलाकर्मीहरुलाई उत्प्रेरणा दिने कार्य गर्ने उनले सुनाए।

फेस्टिभलका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै विदेशी देश बिचको सम्बन्ध पनि राम्रो हुने श्रेष्ठको धारणा थियो। उनले भने,‘मण्डलाले यो महात्सव आयोजना गरेर विभिन्न देशको प्रतिनिधित्व हुने वातावरण बनाएको छ। त्यसले सांस्कृतिक आदानप्रदान मात्र नभएर दुइ देशबिचको पर्यटन र प्रवर्द्धनमा पनि उल्लेखिय भूमिका खेल्न सक्छ। कुटनीतिक रुपमा भएका सम्बन्धलाई मानविय रुपमा जोड्न सक्छ। कार्यक्रममा आवश्यक पर्ने सहकार्य र सहयोगमा नेपाल सरकारको ढोका सधैँ खुला रहनेछ।’

कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका मेयर बालेन शाहले यस्ता फेस्टिभल हुनु निकै राम्रो कुरा भएको बताए। यसवर्ष फेस्टिभलको लागि बजेट नआए पनि केही सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

‘यसवर्ष बजेटमा फेस्टिभलको लागि रकम नआए पनि केही सहयोग गर्न पाउँदा खुसी लागेको छ। आगामी वर्षदेखि ‌औपचारिक रुपमा बजेटमा ल्याएर महानगरले राम्रो तरिकाले सहयोग गर्नेछौं। थिएटर र फिल्म फेस्टिभलका साथै सम्पुर्ण कला क्षेत्रलाई विस्तार गर्नु हाम्रो जिम्मेवारी पनि हो। महानगर शहर हुनलाई यो कुरा चाहिँदो रहेछ भन्ने हामीले विस्तारै बुझ्दैछौँ। कला क्षेत्रमा धेरै कुरा गर्न बाँकी छ,’ शाहले भने, ‘धेरै मानिसहरुमा सम्पन्न भइसकेपछि मात्रै आर्टतिर लगानी गर्नुपर्छ भन्ने बुझाई रहेछ। तर, त्यो बुझाई गलत हो। हाम्रो जुन अवस्था छ त्यससँगै कलालाई अगाडि बढाउँदै लानुपर्छ। जुन सबैतहबाट हुनुपर्छ।'

अभिनेत्री शबाना आजमीले यस नाट्य फेस्टिभलमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको बताइन्। थिएटरका व्यक्तिहरु मिलेर यति भव्य थिएटरका साथै महोत्सवको सुरुवात गरेकोमा मण्डललाई धन्यावाद समेत दिइन् उनले।‘नाट्य क्षेत्रका व्यक्तिहरुले यति राम्रो थिएटर बनाएकोमा निकै खुसी लागेको छ। म फेस्टिभलमा सहभागी हुन पाउँदा निकै उत्साहित छु। कलासँग ठूलो तागत हुन्छ, जसले समाजलाई परिवर्तन गर्न सक्छ,’ उनले भनिन्।

त्यसैगरि, यस फेस्टिभलकी निर्देशक सिर्जना सुब्बाले ३ वर्षपछि यो फेस्टिभल गर्न लागेको बताइन्। कोरोना महामारीले रंगमञ्चलाई असर गरे पनि पछिल्लो समय थिएटर तंग्रिदै गइरहेको उनको भनाई थियो।

‘महोत्सवमार्फत सामुहिक सौहादता बलियो बनाउनुका साथै सामाजिक सचेतना कला र सिप आदानप्रदान माध्यमबाट अनेक सांस्कृतिक सम्पदाहरुको संरक्षणतर्फ सबैलाई लैजान चाहन्छौँ। फेस्टिभलमा नेपालसहित १३ देशका १८ वटा नाटकहरु मञ्चन हुनेछन्,’ सुब्बाले भनिन्।

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सव ९ दिनसम्म चल्नेछ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्। भोलि शबाना आजमीले महोत्सवमा मास्टर क्लाससमेत दिनेछिन्।

फेस्टिभलमा नाटकसम्बन्धी पुस्तक विमोचनका साथै दिया मास्केको निर्देशन रहेको नाटक कथा कस्तुरी मञ्चन भइरहेको छ। यो नाटक नयनराज पाण्डेको कथा ‘सर्पदंश’को नाट्य रुपान्तरण हो।



ट्रेन्डिङ पोस्ट

Ncell