PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

पहिलो खेलमा फराकिलो हार ब्यहोरेको इरानको सानदार पुनरागमन, इन्ज्युरी समयको गोलमा वेल्स पराजित



पहिलोपोस्ट

पहिलो खेलमा फराकिलो हार ब्यहोरेको इरानको सानदार पुनरागमन, इन्ज्युरी समयको गोलमा वेल्स पराजित
Photo: Marko Djurica/Reuters

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ। अहमेद बिन अली स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा एसियाली राष्ट्रमध्ये शीर्ष वरीयताको इरानले युरोपेली मुलुक वेल्समाथि २-० गोलको रोमाञ्चक जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षले गोल गर्न सकेका थिएनन्। पहिलो हाफमा वेल्स र दोस्रो हाफमा इरानले खेलमा राम्रो पकड बनाएका थिए। खेलको ८६ औं मिनेटमा वेल्सका गोलकिपर वायने हेन्नेस्सेले खराब ट्याकलका कारण रेडकार्ड खाँदै बाहिरिएपछि इरानले आक्रमण थप बढाएको थियो। र, इन्ज्युरी समयको आठौं मिनेटमा रौजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाए। त्यसको तीन मिनेटभित्रै रमिम रेजइनले गोल थप्दा इरानले २-० गोलको जित निकालेको हो।

प्रतियोगितामा इङ्ग्ल्याण्डसँग ६-२ गोलको फराकिलो हार ब्यहोर्दै सुरुवात गरेको इरानले वेल्सविरुद्ध सानदार पुनरागमन गरेको हो। अर्कोतर्फ पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स दोस्रो खेलमा पराजित हुन पुगेको हो। जारी विश्वकपमा एसियाली मुलुकको यो तेस्रो जित हो। यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई र जापानले जर्मनीलाई समान २-१ गोलले हराएका थिए। त्यस्तै दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो।

इरानले तेस्रो खेलमा अमेरिका र वेल्सले इङ्ग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell