PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवाटारको जित्ने सूचीमा थिए हुमागाईं, प्रदेशमा गठबन्धनले जित्दा कसरी पराजित बने गोकुलसँग?



नेत्र तामाङ

बालुवाटारको जित्ने सूचीमा थिए हुमागाईं, प्रदेशमा गठबन्धनले जित्दा कसरी पराजित बने गोकुलसँग?

काठमाडौं : काभ्रे २ मा प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार जित्दा प्रतिनिधिसभातर्फ भने नेपाली कांग्रेसका शिव हुमागाई पराजित भएका छन्।

स्थानीय निर्वाचनमा नेकपा एमालेभन्दा गठबन्धनमा रहेका दलहरुले पाएको मत १५ हजार बढी थियो। त्यही आधारमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शिव जसरी पनि जित्ने दाबीका साथ काभ्रे २ मा उत्रिए। बालुवाटारको जित्ने 'लिस्ट'मा पनि उनको नाम थियो, त्यही अनुसार चुनावी 'क्याम्पेन' पनि अघि बढाए हुमागाईले। तर 'रिजल्ट' भनेको उनको पक्षमा आएन।

हुमागाईलाई पाँच हजार ८६३ मतान्तरले पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा दोस्रोपटकका लागि निर्वाचित भएका छन्। बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा हुमागाईले ३९ हजार ४८२ मत प्राप्त गरे।

प्रदेशमा गठबन्धनका उम्मेदवारको जित

काभ्रे निर्वाचन क्षेत्र २ प्रदेशसभा (क) को सदस्यमा एकीकृत समाजवादीका लक्ष्मण लम्साल विजयी भएका छन्। उनले नेकपा एमालेका कुमार खकुरेललाई १८८ मतले पराजित गर्दै प्रदेशसभाको यात्रा तय गरेका हुन्।

गठबन्धनबाट उम्मेदवार रहेका लम्सालले १९ हजार ४०८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खकुरेलले १९ हजार २२० मत पाएका छन्। यसअघि २०७४ मा लम्साल यही निर्वाचन क्षेत्रबाट विजय भएका थिए।

सोही क्षेत्रको प्रदेश 'ख' मा कांग्रेसका कन्चनचन्द्र वादे निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेका वादेले एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पराजित गर्दै विजयी भएका हुन्। वादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् भने थापाले २१ हजार ९६७ मत ल्याएका छन्। कांग्रेस वाग्मती प्रदेशका महामन्त्री रहेका वादे २०७० सालमा संविधानसभा सदस्य भई उद्योग राज्य मन्त्रीसमेत भइसकेका छन्।

प्रदेशमा जित्दा संघमा किन जितेन?

काभ्रे कांग्रेसमा पहिलेबाटै कचिङ्गल देखिन्छ। जसले यसपटकको निर्वाचनको नतिजामासमेत असर गर्‍यो।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका कांग्रेस, एकीकृत समाजवादी, माओवादीको मत जोड्दा ६० हजार ५६० मत पाएको थियो। एमालेको ४५ हजार ५१४ मत थियो। १५ हजार मतान्तर रहँदा पनि बाँस्कोटाले पाँच हजार ८६३ बढी मत ल्याए शिवले भन्दा।

यसक्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १० हजार ५८६ मत प्राप्त गरे। उनी स्थानीय निर्वाचनमा कांग्रेसबाट पनौती नगरपालिकामा मेयरका आकंक्षी थिए। कांग्रेसले टिकट नदिएपछि हुमागाई रास्वपा पसेर प्रतिनिधिसभाको निर्वाचनमा होमिएका थिए। शिव हुमागाईको जन्म गाउँकै दिनेशको उम्मेदवारी पर्नु पनि कांग्रेसको जितमा बाधक बन्यो।

बनेपामा चलेको त्यो टुक्का

बनेपा नेवार समुदायको पकड भएको क्षेत्र हो। यस क्षेत्रका केही वडाहरुमा एमालेको पकड छ। 'एक भोट दाजुलाई, एक भोट पाजुलाई,' निर्वाचन अघि एउटा टुक्का चलेको थियो त्यहाँ। दाजु भनेको कांग्रेसका प्रदेश उम्मेदवार वादे र पाजु भनेको एमालेका प्रतिनिधिसभा उम्मेदवार बाँस्कोटा थिए। बास्कोटाकी श्रीमती तारा मानन्धर बनेपाकी हुन्। त्यसैले पनि बनेपामा बास्कोटालाई (पाजु) भनिएको हो। यो टुक्का धेरैतिर चलेको थियो। यसले भोट 'क्रस' हुने संकेत पहिल्यैदेखि गरिएको थियो। यो विषय चिर्न नसक्दा कांग्रेस कमजोर भएको बताइन्छ।

यसैगरि, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मधु आचार्यमाथि पनि हारको दोष लागेको छ। यस क्षेत्रमा आचार्यले टिकट दाबी गरेका थिए। टिकट नपाएपछि हुमागाईको सुरुवाती प्रचारमा आचार्य देखिएका थिएनन्। पछि आरोप लाग्ने डरमा आचार्य प्रचारमा देखिएका थिए। तर उनले सहयोग नगर्ने डर हुमागाईलाई थियो नै। किनभने मधु २०७४ सालमा बास्कोटासँग पराजित भएका थिए। मधुले त्यतिबेला हुमागाईमाथि हारको दोष थुपारेका थिए। दुई नेताले एकले अर्कालाई अविश्वास गरेका कारण पनि कांग्रेसको पक्षमा मत खस्कियो।

यसैगरि कांग्रेस कमजोर हुनुमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलमाथि पनि दोष लगाउँछन् नेताहरु। केन्द्रमा देउवा निकट नेता खरेलले जिल्लामा शिवलाई सहयोग नगरेको बताइन्छ। काभ्रेको कांग्रेस राजनीतिमा खरेल वंशको पनि प्रभाव रहेको छ।

हारपछि पार्टीभित्रैको चक्रव्युहमा पर्दा आफू पराजित भएको दाबी हुमागाईले गरेका छन्। ‘गठबन्धनका तर्फबाट काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ मा म उम्मेदवार हुँदा निर्वाचनको क्रममा आफ्नै पार्टी भित्र र बाहिरको चौतर्फी घेराबन्दी र चक्रव्यूहमा अन्तिमसम्म लड्दै गर्दा कति पनि विचलित नभई काभ्रेली जनताको स्वाभीमान कायम राख्नका खातिर आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु,’ हुमागाईंले फेसबुकमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell