PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गठबन्धन हुँदा पनि सुदूरपश्चिममा बढारियो माओवादीः प्रदेशमा के छ स्थिति?



एम बम

गठबन्धन हुँदा पनि सुदूरपश्चिममा बढारियो माओवादीः प्रदेशमा के छ स्थिति?

कैलालीः प्रतिनिधि सभामा ३२ सिट रहेको सुदूरपश्चिममा बाजुरा बाहेकका जिल्लामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचनमा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले नमिठो हार बेहोरेको छ। गठबन्धनको आडमा प्रदेशका ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पूर्व सांसदलाई उम्मेदवार बनाएको माओवादीले कुनै पनि क्षेत्रमा जित निकाल्न नसकेको हो।

बैतडी, कञ्चनपुर १ र कैलाली २ र ३ मा माओवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। बैतडीबाट २०६४ सालमा संविधानसभा निर्वाचनतर्फ क्षेत्र नम्बर २ मा निर्वाचित भएका जिल्ला इन्चार्ज नरेन्द्रबहादुर कँवर नेकपा (एमाले) का दामोदर भण्डारीसँग पराजित भए। दामोदरले लगातार बैतडीबाट तेस्रो जित निकाल्दा कुँवर गठबन्धनको साथ पाएर पनि १ हजार ५३१ मतान्तरले पराजित भए।

कञ्चनपुर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी विना मगर एमालेका तारा लामा तामाङसँग पराजित भइन्। २०७४ को निर्वाचन जितेकी मगर तामाङसँग ५ हजार ५४६ मतान्तरले पराजित भइन्। २०७४ मा सोही क्षेत्रबाट विजयी भएकी थिइन्। त्यसपछि खानेपानी मन्त्री समेत भइन्।

कैलालीका दुई क्षेत्रमा भने नागरिक उन्मुक्ति पार्टीले गठबन्धनको साथ पाएका माओवादीलाई जित्न दिएन। कैलाली २ मा भगतबहादुर बडूवाल पराजित भए। एमालेका झपट रावल उक्त क्षेत्रमा दोस्रो हुँदा माओवादीका उम्मेदवार बडूवाल तेस्रो भए।

कैलाली ३ मा कृष्णकुमार चौधरी (कुन्दन) नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीसँग पराजित भए। ५ हजार ३७१ मतले पछि परेका कुन्दन २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए। त्यसपछि २०७३ मा बाबुराम भटराईको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य बनेका उनी २०७८ माओवादीमै फर्किएका थिए। अहिले गठबन्धनको साथ पाएर पनि उनीसहित माओवादीका ४ जना उम्मेदवारको सङ्घीय संसद्मा दोहरिने इच्छामा विराम लाग्यो।

यसरी माओवादीले पाएका सबै क्षेत्रमा पराजय बेहोर्नुपरेपछि उक्त दलका नेता कार्यकर्ताले भने गठबन्धनमा इमानदारिता नदेखिएको आरोप लगाउन थालेका छन्।

प्रदेशमा भने माओवादी प्रत्यक्षतर्फ ८ क्षेत्रमा जित निकाल्दै नेपाली काँग्रेसपछिको दोस्रो ठूलो दल बनेको छ। अछाम १(२) बाट झपटबहादुर साउँद, क्षेत्र नम्बर २(१) बाट अक्कलबहादुर रावल, डोटीको १(२) बाट शिवसिंह वली, डडेलधुरा १(१) बाट खगराज भट्ट, बझाङ १(२) बाट भीमबहादुर भण्डारी, दार्चुला १(२) बाट मानबहादुर धामी, कञ्चनपुर २(१) बाट ओमविक्रम भाट र कैलाली ५(१) बाट रमेशसिंह धामी विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell